खेलकुद

सिंगापुरमाथि मोहम्मद बसिमको हमला– १६ छक्कासहित १६० रन बनाएर आउट

बिज्ञापन

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत सिंगापुर विरुद्धको खेलमा यूएई विशाल स्कोरतर्फ लम्किएको छ । कप्तान मुहम्मद वसिमले सिंगापुरका बलरहरुलाई निरिह बनाउँदै विष्फोटक पारी खेले ।

बिज्ञापन

टस जितेर पहिलो ब्याटिङ गर्ने आफ्नै निर्णयलाई सही सावित गर्दै वसिमले त्रिवि क्रिकेट मैदानमा छक्का र चौकाको वर्षा गरेका थिए । उनी केवल ८२ बलमा १६० रन बनाएर आउट भएका छन् । उनको इनिङमा १६ छक्का र ९ चौका समावेश थिए ।

यूएईले २२ रनकै अवस्थामा ओपनर आर्यन लाक्रालाई गुमाएको थियो । उनी ७ बलमा १२ रन बनाएर आउट भए । त्यसपछि दोस्रो विकेटकालागि वसिमले भृत्य अरविन्दसँग २४६ रनको विशाल साझेदारी गरेका थिए । यही साझेदारीको बलमा यूएईले ४०० को स्कोरतर्फ आँखा लगाइरहेको छ ।

वसिमले सुरुवातमा केही बलहरु डट खेलेका थिए । ११ बल खेल्दा ५ रनमात्र जोडेका उनले १२ बलमा पहिलो छक्का प्रहार गरे । त्यसपछि उनी रोकिएनन् । विनोद बसकर र रामेश कालिमुथुले केही हदसम्म रनमा अंकुश लगाए पनि सिंगापुरका कुनै पनि बलरले वसिमलाई रोक्न सकेनन् ।

अर्का व्याट्समयान भृत्य पनि शतकको नजिक पुगेका छन् । उनलाई अहिले रमिज सहजादले साथ दिइरहेका छन् । यो समाचार लेख्दासम्म यूएईले २९।३ ओभरमा २७९ रन बनाएर खेलिरहेको छ । विष्फोटक ब्याट्सम्यान आसिफ खान अहिले क्रिजमा आएका छन् ।

बिज्ञापन