National Election

मंसिर ४ को निर्वाचनमा भन्दा बढी मत ल्याउने रविको दाबी

बिज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंसिर ४ को निर्वाचनमा भन्दा आज भइरहेको उपनिर्वाचनमा आफूले बढी मत प्राप्त गर्ने दाबी गरेका छन्।

बिज्ञापन

रास्वपाबाट चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका लामिछानेले चितवन २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै मतदातामा उत्साह पाएको भन्दै अघिल्लो पटकको भन्दा धेरै मत आउनेमा ढुक्क रहेको दाबी गरेका हुन्।

‘मेरो हृदयले आजको दिन निकै शुभ दिन मानेको छ, उनले भने’, ‘आज बिहानदेखि म मतदान केन्द्रहरुमा पुग्दा मतदाताहरुमा निकै उत्साह देखेको छु। मतदाताहरु कति संख्यामा हुन्छन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन। तर जति मत खस्छ, लाग्छ- रास्वपाकै पक्षमा खस्छ। हामी आफ्नो एजेन्डा, आफ्नो उम्मेदवार र आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छौं।’

विभिन्न राजनीतिक दलहरुले चुनावमा हराउन फन्डा बनाइरहेको भन्दै रास्वपाले कुनै पार्टीसँग पनि गठबन्धन नगरेको पनि उनले बताए।

गत मंसिर ४ को प्रतिनिधिसभा चुनावमा ४९ हजार २६१ मतका साथ लामिछाने विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराएका थिए।

गृहमन्त्रीसमेत बनिसकेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सबै पदबाट बर्खास्त भएका थिए। सोही कारण चितवन २ मा अहिले उपनिर्वाचन भइरहेको हो।

बिज्ञापन