राजनीति

हामीविरुद्ध फेक न्यूजको कारखाना चलाइयो, घेराबन्दीको जवाफ जनताले दिन्छन्– रवि लामिछाने

बिज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध चुनावको मुखमा नक्कली न्यूज सम्प्रेषण गरेर भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।

बिज्ञापन

सामाजिक सञ्जालमा रास्वपाले अन्य दलसँग तालमेल गरेको चर्चा हुन थालेपछि रविले स्पष्टीकरण दिएका हुन् ।आज बिहान फेसबुक लाइभमा आएका रविले पराजित मानसिकतामा रहेकाहरुले गलत सूचना प्रवाह गरिरहेको बताए ।

उनले भने, ‘कायरहरुले हामीसँग प्रतिस्पर्धा गर्न नसकेर फेक न्यूजको कारखाना चलाएका छन् । हाम्रो समर्थनलाई यो दललाई, त्यो दललाई भनेर भ्रम फैलाइरहेका छन् । उनीहरुको पछि नलाग्नुहोला । म निर्वाचन आयोगको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सभापति लामिछानेले तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले एक्लै चुनाव लडिरहेको स्पष्ट पारे । गलत सूचनाको पछाडि नलाग्न उनले आम मतदातालाई अपिल समेत गरे ।

‘तीनवटै ठाउँमा हामी एक्लै लडिरहेका छौं । कतै तालमेल छैन । कसैका लागि भोट मागिएको छैन । घन्टी चुनाव चिन्ह हाम्रो हो । गलत सूचनाको पछि नलागि घन्टीमा भोट हाल्नुहोला ।’

लामिछानेले निर्वाचन प्रभावित पार्न अनेक हतकण्डा र तिगडमहरु भइरहेको समेत बताए । यसको हिसाब जनताले लिने उनको भनाइ थियो ।
उनले थपे, ‘यसको हिसाब कुनै दिन जनतालाई बुझाउनुपर्ने छ । आज लुकेर गरिएको घेराबन्दी र प्रहारको जनताले जवाफ दिन्छन् ।’

रास्वपाले फेसबुकमा एउटा पोस्ट गर्दै सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचारका विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं । यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ रास्वपाले भनेको छ ।

बिज्ञापन