अर्थ

महँगी र मन्दीको मारमा उपभोक्ता र साना व्यवसायी

बिज्ञापन

काठमाडौं । सिनामंगलमा २० वर्षदेखि तरकारी बेच्दै आएकी अनिता भुजेल महँगीले हैरानीमा छिन् । तरकारी बेचेर जीविकोपार्जन गर्ने उनलाई हरेक कुराको महँगीले पिरोलेको छ ।

बिज्ञापन

उनी भन्छिन, ‘खाद्यान्नदेखि लताकपडासम्म मूल्य बढेको छ । मेरो आम्दानीले खर्च धान्नै समस्या भइसक्यो ।’

सिनामंगलकै रमेश खड्का पनि महँगीले सताएको दुःखेसो पोख्छन् । ‘अहिले त खाद्यान्नभन्दा तरकारीको मूल्य बढेको छ । खाद्यान्न एकै पटक खरिद गर्छु । तर, तरकारी त हरेक दिन किन्नुपर्छ । आज एउटा मूल्यमा किनेको तरकारी भोलि अर्को मूल्य हुन्छ’, खड्का भन्छन् ।

मध्य बानेश्वरस्थित मानसा फेन्सी स्टोरकी सम्झना भण्डारी पनि सबै सामानको मूल्य बढेको बताउँछिन् । व्यापारीहरुसमेत आफूले खरिद गर्दा नै बढी मूल्य तिर्नु परेकाले उपभोक्तासँग पनि बढी मूल्य लिनुपरेको बताउँछन् ।

तनहुँ घर भई हाल नयाँ बानेश्वरमा फुटपाथ व्यवसाय गरिरहेका तेजजंग गुरुङ समानको मूल्य बढेर आएकाले त्योभन्दा बढाएर बेच्न सक्ने अवस्था नभएकाले व्यापार घाटामा चलिरहेको बताउँछन् ।

उनी भन्छन्, ‘खरिदमा जतिसुकै मूल्य बढे पनि हामीले बढाएर बेच्नै सक्दैनौं । ग्राहक सस्तोमा खरिद गर्न हामीकहाँ आउनुहुन्छ । यस्तो अवस्थामा नाफा नखाई पनि सामान बेच्नुपर्ने हुन्छ ।’

बजारमा उपभोक्ता र व्यापारी स्वयं पनि मूल्य बढेको बताइरहँदा यता सरकारी निकाय नेपाल राष्ट्र बैंकले भने महँगी घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले केही दिनअघि अघिल्लो महिनाको तुलनामा महँगी कम भएको प्रतिवेदन सार्वजनिक गरेको हो । उपभोक्ताले अनुभव गर्न नसक्ने गरी तथ्यांकमा घटेको महँगीले बजारलाई छोएको छैन ।

महँगी कम बजारमा होइन राष्ट्र बैंकको प्रतिवेदनमा मात्र सीमित रहेको उपभोक्ता र व्यापारीहरु बताउँछन् ।

एकातर्फ महँगी र अर्कोतर्फ मन्दीका कारण उपभोक्तादेखि साना व्यवसायीसमेत मारमा परेका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । नकिनी नहुने सामानको पनि मूल्य बढेको छ ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्य महँगी बढेकै अवस्थामा स्थिर रहेको बताउँछन् । पछिल्लो समय बढेको मूल्य नघटी स्थिर अवस्थामा रहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उपभोक्ता मूल्यवृद्धि ७.४४ प्रतिशत छ । जबकि अघिल्लो महिना (माघ) ७.८८ प्रतिशत महँगी थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको असार मसान्तसम्म महँगी अझै घट्ने जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले असार मसान्तसम्म महँगी ७ प्रतिशतमा झर्ने बताए ।

बिज्ञापन