राष्ट्रिय समाचार

खाँणले साढे ४ करोड रुपैयाँ लिएको आरोप

बिज्ञापन

काठमाडौं –नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ७, चावहिल, मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरेको हो । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाउने गिरोहलाई साथ दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । वैशाख १३ गते सानु भण्डारीसँग लिएको अडियो रेकर्डमा उनले खाँणको नाम लिएका हुन् र 
‘टेक नारायण पाण्डेलाई एक करोड ५० लाख दिएँ । त्यसबेलाको गृहमन्त्री बालकृष्ण खाँणलाई साढे ४ करोड दिएँ भनेको छ’ अडियो रेकर्डमा भनिएको स्रोतले बताएको छ ।
नक्कली शरणार्थी प्रकरणका अभियुक्त भनिएका सानु भण्डारीसँग २०७९ चैत १३ गते अनुसन्धान अधिकारी दिनेश वस्यालले लिएको बयानमा खाँणलाई साढे ४ करोड र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई डेढ करोड रुपैयाँ बुझाएको उल्लेख अडियोमा छ ।यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 
उक्त घटनामा आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।

बिज्ञापन
बिज्ञापन