राजनीति

ओलीलाई माधव सापकोटाको प्रश्न- एमालेले फटेङ्ग्रा खान लागेको हो ?

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमाले ‘फटेङ्ग्रा खान’ लागेको हो भनी प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै सापकोटाले सो प्रश्न गरेका हुन् ।

बिज्ञापन

आइतबार प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्दै अध्यक्ष ओलीले आफ्नो मान्छे बचाइदेऊ भन्दै म्याउँम्याउँ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभेटेको र बाघ बरु भोकैले मेर्ने तर घाँस नखाने भन्दै अभिव्यक्ति दिएका थिए ।

आलीको सोही अभिव्यक्तिमाथि टिप्पणी गर्दै सापकोटाले भने– ‘मेरो हजुरबाले भन्नु हुन्थ्यो, बाघले तन्नेरी भइन्जेल घाँस खाँदैन । तर बाघ बूढो भएपछि फटेङ्ग्रा टिप्छ । कतै फटेङ्ग्रा टिप्न तिर पो लागेको हो कि हाम्रो प्रतिपक्षी ?’

सरकारका नीति तथा कार्यक्रम एमालेले विरोधको लागि मात्रै विरोध गरको सापकोटाको भनाइ थियो । ओली सरकारले ल्याएको नीति तथा कार्यक्रम र अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य खासै फरक नभएको बताए ।

आइतबार ओलीले दुई घण्टा लामो हेडमास्टरी शैलीमा सांसदलाई पढाएको पनि सापकोटाले टिप्पणी समेत गरे । आइतबारदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम छलफलमा ओली दुई घण्टा बढी बोलेका थिए ।

एमालेले लोकतन्त्रको हत्या गरेको पनि सांसद् सापकोटाको आरोप थियो । उनले भने, ‘प्रदीप गिरीले यसै रोस्टमबाट घतलाग्दो कुरा भन्नुभयो । लोकतन्त्र भनेको सङ्ख्याको तन्त्र र त्यहाँ बसेर ढ्याप ढ्याप गर्ने होइन भन्नु भएको रहेछ । अस्तिका दिन ल्होत्से हलमा एमालेले दिनभर छलफल गर्नुभयो, तालिम लिनुभयो । र, कसले के विषयमा बोल्ने भनेर कन्टेन विभाजन गर्नुभयो र तपाईंहरू ढ्याप ढ्याप गर्नुहुँदैछ । यो लोकतन्त्रको हत्या हो । यसरी लोकतन्त्र हुँदैन ।’

बिज्ञापन