राजनीति

देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

बिज्ञापन

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् ।

बिज्ञापन

बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् ।

‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् ।

सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।
नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् ।

सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए ।

‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।
बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

बिज्ञापन