आस्था /आध्यात्म

चौमालाको मंगलपुरमा वृहत सत्संग सम्पन्न

बिज्ञापन

चौमाला, २ असार । कैलालीको चौमालाको मंगलपुर स्थित सन्त निरंकारी सत्संग भवनमा वृहत सत्संग सम्पन्न भएको छ ।

बिज्ञापन

आज शनिबारका दिन आयोजित उक्त सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले परमात्मा–निराकारले सृष्टिको जुन रचना गरेको छ त्यसमा चार प्रकारका प्राणीहरु रहेका छन् । अण्डज वर्गमा अण्डाबाट जन्मिएका पशु–पंक्षी, किट–पतंगहरु पर्दछन् । पिण्डज वर्गमा हामी मानिस लगाएत अरु पशुहरु पर्दछन् । स्वतभेद जोकि आफै जन्मेका जसलाई कुनै आमा–बुवाको आवश्यकता पर्दैन । जस्तै हामीले केहि दिनसम्म लुगालाई धुदैनौ वा नुहाउँदैनौ भने हाम्रो शरीरमा स्वतः लिखा, जुम्राको जन्म हुने गर्दछ । फोहोर कपडाबाट जुम्राको जन्म हुन्छ । यिनीहरु मल–मुत्रबाट जन्मिएका हुन्छन् । यिनीहरु पनि एक प्रकारका प्राणी नै हुन । त्यस्तै उदभेद भनेको माटोबाट निस्किएका बोट–विरुवा, बनस्पतिहरुलाई जनाउँछ । यिनीहरु पनि एक प्रकारका प्राणी नै हुन । अतः यी सबैको जन्मदाता भनेको ईश्वर–निराकार नै हो । यिनीहरुको पालन–पोषण पनि यसैले गर्दछ । सूर्य, चन्द्रमा, तारा, अग्नि, धर्ति, जल, हावा, जीव, आकाश यी नौ प्रकार प्रकृतिहरुलाई ज्ञान लिनुभन्दा पहिले हामी भगवान मानेका थियौं तर जब सत्गुरुको कृपाबाट हामीलाई ज्ञान प्राप्त भयो तब थाह भयो कि यी ईश्वर–परमात्मा नभएर यसैले बनाएका संरचना हुन । यिनीहरुको रचियता परमात्मा नै रहेछ भनेर थाह पायौं । यी नौ प्रकृति एक न एक दिन अवश्य नष्ट भएर जाने छन् तर जो परमात्मा छ त्यो कहिल्यै नाश हुने छैन । एकरस रहने छ्, यो कहिल्यै परिवर्तत हुने छैन, यसको कुनै आकार छैन, न पानीले भिजाउन सक्छ, न त कुनै शास्त्रले काट्न सकिन्छ, न त यसलाई जलाउन सकिन्छ । यही सच्चा परमात्मा हो, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि ज्ञान लिनुभन्दा पहिले हामीमा अनेकौ भ्रम–भ्रान्ति, शंका–उपशंकाहरु थिए, अनेकौं दुःख–कष्टहरु झेलिरहेका थियौं । तर जब सत्गुरुको कृपाबाट ब्रम्हज्ञानको प्राप्ति भयो तब सम्पूर्ण भ्रमहरु दूर हुन गए । संसारमा हेर्ने हो भने मानव ईश्वरलाई पाउन भौतारी रहेको छ तर ब्रम्हज्ञानको अभावले पाउन सकिरहेको छैन तर आज निरंकारी मिशनमा सत्गुरुको माध्यमबाट यसको साक्षात दर्शन गरेर यसको अनुभूत भइरहेको उहाँले बताउनु भयो ।

मानव योनि पाएर पनि यसलाई चिन्दैनौ, खानु, पिउनु, सुत्नुलाई आफ्नो मुख्य लक्ष्य ठान्छौ भने फेरि हामी चौरासी लाख योनिमा रुमल्लिएर भूत–प्रेत भएर बस्नु पर्ने हुन्छ । तर जसले यो आत्मा परमात्माको अंश हो भनेर यसैमा इकमिक हुन जान्छ भने त्यसको मानव योनि पाएको पनि सार्थक हुन जान्छ र ऊ मुक्तिको हकदार हुन्छ, उहाँले प्रष्ट पार्नु भयो ।

आत्माको औषधि भनेको नै सन्तहरुको सत्संग हो । सेवा, सत्संग, सुमिरण गर्दै आफूलाई परमात्माप्रति समर्पित गर्छौ भने हामीलाई कुनै प्रकारको समस्या आउँदैन । मानव आज संसारकै सर्वश्रेष्ठ प्राणी मानिन्छ । ऊ चेतनशिल प्राणी हो । उसले ठुलाभन्दा ठुला ह्रिंसक जनावरहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ तर मानवले एउटै चीजलाई नियन्त्रणमा राख्न सक्दैन त्यो हो त्यसको मन । यदि त्यसले आफ्नो मनलाई नियन्त्रणमा राख्न सक्छ भने ऊ सुखी हुन जान्छ । शरीर मरेर गएपनि उसको आशा–तृष्णा भने कहिल्यै मर्दैन । यसले नै मानवलाई अधोगतितिर लिएर जान्छ । त्यसैले हामीले परमात्मालाई जान्नु आवश्यक छ । यदि हामी परमात्मालाई जानेर कुनैपनि कार्य गर्छौ भने त्यो सार्थक हुन जान्छ, मानव योनि पाएको पनि सफल हुन्छ । सबै परमात्माका अंश हुन । सबै यस संसारमा बराबरा छन्, कोहि सानो–ठुलो छैन आदि जस्ता भाव राखेर नमस्कार गर्दा ईश्वरको अंश सम्झेर हामी कुनैपनि मानवको चरण स्पर्श गर्छौ भने त्यसबाट हामीलाई भरपूर आशीर्वादको लाभ प्राप्त हुन जान्छ, उहाँले बताउनु भयो ।

वृक्षले कहिल्यै पनि फल खाँदैन, नदीले कहिल्यै आफ्नो पानी पिउदैन अरुको तिर्खा मेटाउने गर्दछ, त्यस्तै फलले अरुलाई आफ्नो फल खुवाउने गर्दछ । यस प्रकार परोपकारी सन्तहरुको स्वभाव पनि यस्तै प्रकारको हुने गर्दछ । उनीहरु आफ्नो कमाई सन्तहरुमा खर्चिनुमा खुशी हुन्छन् । मानवहरुको सेवा–सत्कार गर्दै उनीहरुको जीवन बित्ने गर्दछ । यसरी आज यस कुराको ज्ञान हामीलाई सत्गुरुको माध्यमबाट नै प्राप्त भएको छ । सधैं सत्गुरुको आदेशको पालन गर्दै जीवनलाई अगाडि बढाउनु पर्छ, उहाँ बताउनु भयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, अत्तरीय भवनका सेवादल संचालक करन सिंह, सन्त निरंकारी नेपाली मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, गायक तेज बहादुर बोहरा, इन्द्र सिंह, नविन, मान बहादुर, राम बहादुर, धन बहादुर, भिन, दिपक लगायत स्थानीय सन्त–महापुरुषहरुले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संगको संचालन राजन रेग्मीले गरेका थिए ।

बिज्ञापन