Uncategorized

श्रद्धाञ्जली सत्संग कार्यक्रम सम्पन्न

बिज्ञापन

टीकापुर, ३ असार । पुरातन परोपकारी महात्मा खडकराम काफ्ले ज्यूको ४५औं पुण्य तिथिको अवसरमा उहाँकै निवास्थान टीकापुरमा श्रद्धाञ्जली सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

बिज्ञापन

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले हामीले जस्तो कर्म गर्छौ त्यस्तै फल मरेर गएपछि पाउने बताउनु भयो । यदि मानव योनि पाएर यस संसारमा आएर राम्रो कार्य गर्छौ भने हामी मरेर गएपनि त्यसको फल हामीलाई राम्रो नै मिल्छ । बारबार जन्मनु–मर्नुको फेरोबाट छुटकार पाएर सदाको लागि यो आत्माले आफ्नो निज घर अर्थात परमात्मा–निराकारलाई प्राप्त गर्दछ र त्यसैमा समाहित भएर सधैं सुखी रहन्छ । बारबार जन्मनु र मर्नु पर्दैन । मानव जन्म लिनु भनेको खानु–पिउनु–सुत्नु मात्र नभएर मोक्ष प्राप्तिको लागि मिलेको हो । मानव योनि बार–बार पाइदैन, यो चौरासी लाख योनि काटि सकेपछि मात्र यो अमूल्य जीवन पाईन्छ । यसैको जानकारी सत्गुरुले आज हामीलाई गराई रहेको छ । हामी बडा भाग्यशाली छौ किनभने यस योनिमा हामीलाई सत्गुरु मिलेको छ । हामीले उहाँको आदेश–उपदेशमा रहेर यस मानव तन पाएको सार्थक गर्नुपर्ने बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि महात्मा खडकराम काफ्ले जी पनि सत्गुरुको कृपाबाट ब्रम्हज्ञान लिसकेपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सधैं उहाँको जीवनमा खुशीयाली नै छायो । आफू निरंकारी भएपछि आफ्नो परिवार तथा आफ्नो छर–छिमेक, नाता, ईष्ट–मित्रहरुलाई यस निराकारसंग जोडेर उनीहरुको जीवन पनि सार्थक गराउनु भयो । उहाँ सन्तहरुमा हुनु पर्ने गुणले परिपूर्ण हुनुहुन्थ्यो, सधैं सेवा–सत्संग–सुमिरण गर्नु आफ्नो परम लक्ष्य ठान्नु हुन्थ्यो । उहाँ जिउँदै मोक्षका हकदार हुनुहुन्थ्यो । उहाँका राम्रा गुणहरुलाई हामीले पनि अनुकरण गरे उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

त्यस्तै प्रकार स्व. खडकराम काफ्ले ज्यूका माईला सुपुत्र तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका अध्यक्ष र सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले ज्यूले आफ्नो बुवालाई भावपूर्ण श्रद्धाञ्जली दिदै विगतका कुराहरुको स्मरण गर्दै भन्नुभयो कि मेरा आमा–बुवा चार वर्षसम्म बिरामी पर्नुभयो, धेरै औषधि उपचार, धामी–झाक्री, हेराउन–केराउन गरियो तर कतै गएपनि सञ्चो हुन सकेन, भएभरको सम्पत्ति पनि सिद्धियो । अन्त्यमा आफ्नै कुलको धामीलाई पहाडबाट बोलाई र देखाइयो तर उनले पनि आफूबाट सञ्चो गर्न नसकिने बताए । त्यसपछि कसले निको गर्न सक्छ भनेर पत्ता लगाउँदै जाँदा थाह भयो कि सत्गुरु भएपछि यो बिराम सबै ठिक हुन्छ भनेर । तब मालझुलमा महात्मा प्रभुराम रेग्मी जी बस्नु हुन्थ्यो, उहाँ निरंकारी हुनुुहुन्थ्यो । महात्मा प्रभुराम जीलाई मेरा आमा–बुवाको समस्याको बारेमा थाह भयो र उहाँले त्यसै दिन त्यहाँबाटै राति ११.०० बजे यस निराकारको सिमरण गर्नुभयो, उहाँले सिमरण गरेको दुई घण्टा अर्थात राति १.०० बजे मेरा दुबै आमा–बुवालाई सञ्चो हुनगयो, यो सबै सत्गुरुको नै कृपा र निरंकारमाथि अटूट विश्वासको फल नै थियो । आफूहरु सञ्चो भएपछि उनीहरुमा अटूट विश्वास र श्रद्धा यस निरंकारमाथि पलायो र उनीहरु त्यसदिनदेखि निरन्तर सत्संग, सेवा, सिमरणमा समर्पित भए । आएका सन्त–भक्तहरुको बढीभन्दा बढी सेवा–सत्कार गर्न पाउँ भन्ने उहाँमा प्रवल इच्छा हुन्थ्यो, सबैसंग छोटो समयमा नै घुलमिल हुने, कठोर बोली कहिल्यै नबोल्ने, मधुर बोलीलाई सधैं प्राथमिकता दिनु आदि जस्ता कुराहरुलाई आफ्नो जीवनमा अंगालेर यस निराकारको छत्रछायामा जीवन बताउनु भयो, उहाँले जानकारी गराउनुभयो ।

सत्संगमा सन्त निरंकारी सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारी, कान्ति प्रसाद ज्ञवाली, सेवादल शिक्षक भवन सिंह, दुर्गा भण्डारी, पूर्ण कुमाल, तारा बोगटी, लक्ष्मी बोहरा, इन्द्र सिंह आदि सन्तहरुले महात्मा खडकराम काफ्ल ज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए भने सत्संगको संचालन राजन रेग्मीले गर्नु भएको थियो ।

स्मरण रहोस की महात्मा खडकराम काफ्ले जीले महात्मा लाल बहादुर जीबाट बि.सं. २०३५ साल फागुनमा ब्रम्हज्ञान लिनु भएको थियो । उहाँका ५ छोरा÷बुहारी र १ छोरी÷ज्वाई हुनुहुन्छ ।

बिज्ञापन