राष्ट्रिय समाचार

सहकारीलाई ३० भित्र विवरण पेस गर्न काठमाडौं महानगरको निर्देशन

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सहकारीहरुलाई ३० दिनभित्र विवरणहरु पेस गर्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदन लगायत तोकिएका विवरणहरु पेस गर्न भनेको हो ।

बिज्ञापन

केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत विवरणहरु पेस नगरेको सूचनामा उल्लेख गरिएको छ । महानगरले ३० दिनभित्र तोकिएका विवरहरु पेस नगरे कानुन बमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक वर्षको लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरेको विषय महानगरपालिकाले स्मरण गराएको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै वित्तीय जोखिमबाट बच्न र सहकारी संस्थाहरुलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गरेका छन्।

मेयर शाहले तोकिएको समयमा सबै सेयर सदस्यहरुलाई उपस्थित गराइ साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन पनि भनेका छन्।

बिज्ञापन