हुलाकी सडक कालोपत्रे भएपछि नागरिकलाई सहज

बाँके, असार २० गते । हुलाकी सडक अन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्रेको काम अघि बढेपछि राप्ती–सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको छ ।
पूर्वबाट नेपालगञ्ज पुग्ने यात्रुहरुका लागि सहज भएको स्थानीयले बताएका छन् । राप्ती सोनारी गाउँपालिका –३ बैजापुरका विनोद थारुले सडक कालोपत्रे भएपछि वडा नम्बर १, २, ३, ४, ५ र ६ का वडाबासीलाई नेपालगञ्ज पुग्ग्न सहज भएको बताउनुभयो । फत्तेपुर, विनौना र बैजापुरबासीलाई पालिका सदरमुकाम अगैया पुग्न समेत सहज भएको उहाँको भनाइ छ ।

सडक कालोपत्रेसँगै बीचमा पुल र कल्भर्ट निर्माणको कामसमेत भएको छ । अहिले आवागमनमा सहजता भएपछि काम गर्न सहज भएको स्थानीयको बुझाइ छ । थारुले भन्नुभयो, ‘विगतमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकोमा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ ।’
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्जबाट हुलाकी सडक अन्तर्गत सिधनिया कटकुइयासम्मको सडकको काम सम्पन्न भए पनि फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य जारी छ । वैजापुरलगायतका केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम पनि बाँकी छ ।
सडक निर्माण भएपछि स्थानीयलाई आवागमनमा सहजता भएको र वैकिल्पक सडकको रुपमा प्रयोगमा आएको कार्यालयले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इञ्जिनियर कृष्ण पाण्डेले हुलाकी सडक अन्तर्गतको सो सडकको अन्तिम चरणको कालोपत्रेको काम बाँकी रहेको बताउनुभयो ।
आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताउनुभयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
