Sudur Pradesh News

काठमाडौंमा सुदूरपश्चिमका सभामुखसहित अर्थ समिति सदस्यहरुको अर्थपूर्ण राजनीतिक भेटघाट

बिज्ञापन

कैलाली । १३ असारमा अन्तर प्रदेश भ्रमणका लागि धनगढीमा निस्किएको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू अहिले काठमाडौँमा राजनीतिक भेटघाटमा व्यस्त छन् ।

बिज्ञापन

पुरानै कार्यक्रमको ४ लाख र १० लाख थप रकमान्तर गरेर सात दिने लुम्बिनी र गण्डकी प्रदेशको भ्रमणमा निस्किएको टोलीले अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई भेटघाट गरिरहेको छ ।

लुम्बिनी र गण्डकी प्रदेश सभाको संरचना, त्यहाँको अवस्था र अन्तरक्रिया सम्पन्न गरेर कर्मचारीको टोलीलाई धनगढी फर्काएपछि समितिका सम्पूर्ण सदस्यहरू राजनैतिक भेटघाटका लागि काठमाडौँ पुगेका हुन् ।

समितिका ज्येष्ठ सदस्य मानबहादुर रावल र समितिमा सदस्य रहेका नेकपा माओवादी संसदीय दलका नेता खगराज भट्ट अन्तर प्रदेश भ्रमणका नगए पनि काठमाडौँको शीर्ष नेताहरूको भेटघाटमा सरिक भएका थिए ।

समितिमा नरहेका सभामुख भीम भण्डारी १३ गते देखी नै अन्तर प्रदेश भ्रमण थिए । उनी भ्रमण पछिको राजनैतिक भेटघाटमा पनि सँगै छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे देखी प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सम्मलाई सभामुख सहितको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले अर्थपूर्ण भेटघाट गरिरहेका छन् ।

उनीहरूले माओवादी उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पनि भेटिसकेका छन् ।

प्रतिनिधिसभाका सभामुख बाहेक सबै शीर्ष नेताहरूसँगको भेटमा सरकारले असार १ गते ल्याएको बजेका विषयमा गुनासा र पीडा पोखेका थिए । यसरी गुनासो गर्नेमा समितिका सदस्य मात्रै होइनन् सभामुख भण्डारी पनि छन् ।

सभामुख आफै गठबन्धनका शीर्ष नेताहरूसँग भेट्न पुगेर बजेट यथास्थितिमा पारित गर्न नसकिने सम्मको चेतावनी दिने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटघाटमा माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धनश्याम चौधरी र नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घ सोडारी छन् । त्यस बाहक एमाले र र कांग्रेसका प्रदेश सभा सदस्यहरू पनि भेटघाटमा थिए ।

आज कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्ने गरी तयारी भइरहेको स्रोतको दाबी छ । यी दुवै शीर्ष नेताहरूलाई पनि यथास्थितिमा बजेट पारित नहुने अवस्था रहेको उनीहरूले जानकारी दिने छन् । देउवाले अहिले सम्म समय निर्धारण गरेका छैनन् भने नेपाल श्रीकाबाट फकिएपछि भेट्ने गरी छलफल चलिरहेको छ ।

अन्तर प्रदेश भ्रमणकै सिलसिलामा अवस्था बुझ्न र जान्न काठमाडौँ सम्म पुगेको ज्येष्ठ सदस्य मानबहादुर रावलले बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटघाटमा मात्रै आफू सरिक भएको जानकारी दिए। त्यस अघि उनी लगायत ६ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बजेट यथास्थितिमा पारित गर्न नसकिने जानकारी दिइसकेका छन् ।

बिज्ञापन