मनोरञ्न

मध्यरात फेसबुकमा लाइभ आएर भक्कानिए सुशान्त खत्री

बिज्ञापन

काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री हिजो मध्यरात फेसबुक लाइभमा आएर अत्यन्त बिक्षिप्त रुपमा प्रस्तुत भएका छन् । उनले आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए ।

बिज्ञापन

खत्रीले हिजो फेसबुकमा निराशावादी पोस्ट गरेका थिए । हालै आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिँदै उनले अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्दै चिन्ताजनक सङ्केत गरेका थिए । सो स्टाटसको आशयलाई अझै खुलस्त पार्दै खत्रीले फेसबुक लाइवमा चरम निराशाजनक अभिव्यक्ति दिएका हुन् ।

६ महिनादेखि आफूलाई निकै गाह्रो भएको सुशान्तले बताएका छन् । उनले आफ्नो समस्या भने खुलाएका छैनन् । आफूले धेरैलाई साथ र सहयोग गरे पनि आफूलाई चाहिएको बेला अरुको साथ नपाएको उनको गुनासो छ ।

‘सक्दिन अब मैले । सक्दिनँ । जसको धेरै आवश्यकता छ, त्यो टाइममा कोही पनि हुँदैन रहेछ भन्ने आज आएर थाहा भयो । जहिले पनि आफू पछाडि बसेर मान्छेहरुलाई हेल्प गरेँ । आफू गिरेर भए पनि सबैलाई हेल्प गरेँ । तर लास्टमा आफू नै नराम्रो भइँदो रहेछ,’ सुशान्तले भने ।

उनले थपे, ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ । कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी… मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु ।’

‘कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ उनले भक्कानिँदै भने ।

उनले औषधिको पत्ता समेत देखाएर आफूले कुनै पनि क्षण गलत निर्णय लिन सक्ने संकेत गरे ।

‘आइ ह्याभ अ मेडिसिन राइट नाउ । जतिबेला पनि आइ क्यान डु यु नो… दिस इज द .फ… मेडिसिन . सिक्स पिल्स लाइभ गन… ।’
उनले आफ्नै देशमा आएर मर्ने चाहना रहेको बताए ।

को हुन् सुशान्त खत्री ?

काठमाडौंको कपननिवासी सुशान्त खत्रि युवापुस्तामा निकै लोकप्रिय डान्सर हुन् । नेपाल र भारतमा उनका लाखौ फ्यान छन् । उनी भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट थिए । स्टार प्लसबाट प्रशारण हुने सोही कार्यक्रममा उनले पछि निर्णायकको भूमिका समेत निभाएका थिए ।

त्यसअघि सन् २०१२ मा भारतको चर्चित रियालिटी शो ‘इन्डियाज सुपरस्टार’मा छनोट भएपछि सुशान्तको चर्चा सुरु भएको थियो । उक्त कार्यक्रमको टप १० मा पुगेर उनी बाहिरिएका थिए । सुशान्त संगीतमा पनि सक्रिय छन् । उनको पहिलो गीत ‘सानुमाया’ सन् २०१९ मा रिलिज भएको थियो ।

बिज्ञापन