‘लम्पी स्किन’ नियन्त्रण गर्न स्थानीय तहलाई एक लाख

काठमाडौं – लम्पी स्किन रोग नियन्त्रणका लागि पशुसेवा विभागले सात सय ५३ वटै स्थानीय तहलाई एक–एक लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्थानीय तहलाई खोप खरिदका लागि बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।
आव ०८०/८१ का लागि एक सय ६१ स्थानीय तहहरूमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहहरूमा प्राविधिकहरूको व्यवस्थापन र खोप खरिदका लागि बजेट विनियोजन गर्न लागिएको ढकालको भनाइ छ । उनले भने, ‘अर्थ मन्त्रालयबाट बजेट निकासा हुन बाँकी छ, महामारी नियन्त्रण गर्न संघीय ससर्त अनुदानअन्तर्गत एक लाख रुपैयाँका दरले रकम विनियोजन भएको हो ।’

पशु विभागका अनुसार हालसम्म सात लाख ३७ हजार डोज खोप आयात भई सातवटै प्रदेशका एक लाख ७२ हजार एक सय २८ पशुहरूमा खोप लगाइएको छ । हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० मध्ये २५ हजार चार सय आठ पशु मरेका छन् । त्यसमध्ये चार लाख नौ हजार निको भएका छन् । हाल दुई लाख ४७ हजार नौ सय ४७ संक्रमित रहेको विभागको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
