राजनीति

ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा तानेको माधव नेपालको दाबी

बिज्ञापन

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् ।

बिज्ञापन

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको सबै अपजस लिनुपर्ने भन्ने नहुने बताए ।

‘यो प्रकरणको उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’

यो प्रकरणमा नाम जोडिएर आफू नआत्तिएको उल्लेख गर्दै उनले खाएको विष मात्रै लाग्ने बताए ।

उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ ।’

नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताए ।

उनले सबै सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नुपर्ने, नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए । ‘त्यसो भयो भने आम मान्छे डराउँछन्। जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ, र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ’ उनले भने,

नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको नेता नेपालले बताए ।

उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’

यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको नेपालले बताए ।

नेता नेपालले प्रचण्ड प्रधानमन्त्री रहेको अहिलेको सरकार नै पाँच वर्ष टिक्ने दाबी गर्दै यही सरकारलाई टिकाइ रहनको लागि गठबन्धन दलभित्र छलफल चलिरहेको र पाँच वर्षसम्म यही सरकार टिकाउने गरी निचोडमा पुग्ने बताए ।

नेता नेपालले प्रधानमन्त्री प्रचण्डलाई सीमा नाघेर नबोल्न सुझाउँदै भने, ‘हाड नभएको जिब्रोले झुक्क्याउँछ। बोल्दा ख्याल गर्नुपर्छ, जिब्रो फ्याट्ट बोल्छ र हाडभित्र लुक्न गइहाल्छ। अनि हाडले घेरिएको कपाल दुख्न थाल्छ। स्पष्टीकरण र जवाफ दिँदा दिँदै झन् कपाल दुख्छ। जिब्रो आनन्दले बसेको हुन्छ। अनावश्यक टाउको दुखाउने गरी अभिव्यक्ति दिने कुरामा सचेत हुनुपर्दछ । ’

बिज्ञापन