राष्ट्रिय समाचार

मिटरब्याज सम्बन्धी विधेयक आजै पारित गरिने

बिज्ञापन

काठमाडौं – सरकारले  मिटरब्याज पीडितलाई न्याय दिलाउन भन्दै ल्याएको अध्यादेश निष्क्रिय भए पनि त्यसलाई प्रतिस्थापन गर्न संसदमा दर्ता भएको विधेयक आज नै पारित गर्ने तयारी गरिएको छ ।

बिज्ञापन

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा  दफावार छलफल सकेर त्यसै दिन पारित गर्ने सत्तारूढ दलहरूको तयारी छ ।

तर, विधेयक अगाडि बढाउन तयार रहे पनि विपक्षी दलहरूले प्रक्रियाको विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ र सत्तापक्षीय प्रमुख सचेतकहरूबीच शनिबार गृह मन्त्रालयमा भएको छलफलमा विधेयकको विषयवस्तुमा सहमति जुटेको छ ।

६० दिन (२० असार)भित्र अध्यादेश प्रमाणीकरण गर्नुपर्ने संवैधानिक सीमालाई मध्यनजर गर्दै सरकारले ५ असारमा राष्ट्रिय सभामा प्रतिस्थापन विधेयक पेस गरेको थियो । राष्ट्रिय सभाले १५ असारमा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको थियो । १७ असारमा सैद्धान्तिक छलफल गरेको प्रतिनिधिसभाले २० असारमा पारित गर्ने कार्यसूची बनाएको थियो । तर, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीले संसद् अवरुद्ध गर्दा विधेयक पारित हुन सकेन र अध्यादेश निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भए पनि प्रतिनिधिसभामा विचाराधीन प्रतिस्थापन विधेयकलाई परिमार्जन गरेर अगाडि बढाउने तयारी सत्तापक्षको थियो । २५ असारमा सदनको गतिरोध अन्त्य भए पनि प्रधानमन्त्रीको स्पष्टीकरणका लागि भन्दै कार्यसूचीमा परेन । सञ्चारमन्त्री रेखा शर्माले २९ असारको बैठकबाट विधेयक पारित गर्ने तयारी रहेको जानकारी गराए पनि सत्ताघटक जसपाको असन्तुष्टि र विपक्षी एमालेको कानुनी प्रश्नका कारण शुक्रबारको बैठकको कार्यसूचीमा विधेयक समावेश गरिएकाे थिएन्।

बिज्ञापन