राजनीति

नेकपा एस बैठक : नेताहरूको जिम्मेवारी हेरफेर गरिँदै

बिज्ञापन

काठमाडौं । एक सातादेखि जारी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकअन्तर्गत आज अन्तिम दिन बिहानदेखि नेताहरू जुटेका छन् । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा टुंगो लाग्नेछ ।

बिज्ञापन

नेकपा एसमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ ।

नेकपा एस छाडेका चुडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो ।

पोलिटब्युरो सदस्य दिलु पन्तका अनुसार सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ । समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ ।

बैठकमा जनवर्गीय सङ्गठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टीको महाधिवेशनलगायत मुद्दामा छलफल भएको छ । पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गर्ने पनि बताइएको छ ।

बिज्ञापन