बिश्व

बंगलादेशमा सडक दुर्घटना : एक महिनामै ५६२ जनाको मृत्यु

बिज्ञापन

एजेन्सी । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।

बिज्ञापन

बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए । पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।

बसमा रहेका एक घाइते एमडी मोमिनका अनुसार बसमा क्षमता भन्दा बढी यात्रु सवार थिए । ‘म भण्डारियाबाट बसमा चढेँ । बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो,’ उनले भने, ‘सबै यात्रु बसभित्र फसेका थिए । ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ ।’

बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

एक महिनामा दुर्घटनामा ५६२ जनाको मृत्यु
बंगलादेशमा बस दुर्घटना सामान्य भइसकेको छ । सडक सुरक्षा फाउण्डेशन (आरएसएफ) का अनुसार जुनमा मात्रै ५५९ सडक दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर ५६२ जनाको मृत्यु भएको थियो भने ८१२ जन घाइते भएका थिए ।

ढाका ट्रिब्यूनका अनुसार देशभर २०७ मोटरसाइकल दुर्घटनामा १६९ जनाको मृत्यु भएको छ । जुन कुल मृत्युको ३३.७५ प्रतिशत हो। यसमा ७८ महिला र ११४ बालबालिका रहेका छन् ।

बिज्ञापन