खेलकुद

फुटबलका महाशक्ति ब्राजिल, अर्जेन्टिना र इटली महिला विश्वकपमा उपाधिविहीन

बिज्ञापन

मेलबर्न । महिला विश्वकप फुटबलको नवौं संस्करण अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको छ । जारी प्रतियोगितामा एसियाका ६, अफ्रिकाका ४, उत्तर तथा मध्य अमेरिकाका ६, दक्षिण अमेरिकाका ३, युरोपका १२ र ओसियाना क्षेत्रबाट एक गरी कुल ३२ टोली सहभागी छन् ।

बिज्ञापन

पुरुष फुटबलतर्फ चर्चित ब्राजिल, अर्जेन्टिना, फ्रान्स, इङ्ल्यान्ड, स्पेन, इटालीलगायत देशहरु पनि जारी महिला विश्वकप खेलिरहेका छन् । तर, पुरुष फुटबलमा बेजोड प्रदर्शन गर्ने देशहरु महिला विश्वकपमा भने सशक्त छैनन् ।
महिला विश्वकप यसअघि अमेरिकाले सर्वाधिक चार पटक जितेको छ । जर्मनीले दुई तथा नर्वे र जापानले एकएक पटक उपाधि हात पारेका छन् ।

यी सबै टोली एकएक पटक फाइनलमा पुगेर पराजित पनि भएका थिए । स्वीडेन, ब्राजिल, चीन र नेदरल्यान्ड्स पनि एकएक पटक फाइनल पुगेका थिए । तर, उनीहरु उपाधि भिडन्तमा पराजित भए ।

पुरुषतर्फ ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ भने दुई पटक उपविजेतामा सीमित भएको छ । जर्मनी चार पटक विजेता र चारै पटक उपविजेता बनेको इतिहास छ । इटाली पनि पुरुषतर्फ चार पटक विजेता बनेको छ भने दुई टक फाइनलमा पुगेर पराजित भएको थियो ।

तीन पटक उपाधि जितेकाे अर्जेन्टिना तीनै पटक उपविजेतामा सीमित भएको छ । फ्रान्स पनि दुई पटक उपाधि जितेर दुई पटक नै फाइनलमा पराजित भएको छ । उरुग्वेले दुई पटक तथा इङ्ल्याण्ड र स्पेनले एकएक पटक पुरुषतर्फको उपाधि हात पारेका छन् ।

गत वर्ष विश्व विजेता बनेको अर्जेन्टिना हालसम्म महिला विश्वकपको प्रिक्वाटरफाइनलसम्म पनि पुग्न सकेको छैन । अर्जेन्टिना केवल चौथो पटकमात्र विश्वकप खेलिरहेको छ ।

यस्तै ब्राजिल हरेक पटक महिला विश्वकप खेलिरहे पनि उपाधिविहीन छ । सन् २००७ मा फाइनलसम्म पुगेको ब्राजिल उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो । ब्राजिल अघिल्ला दुई संस्करणमा प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

जर्मनी पनि महिला विश्वकप नियमित खेल्ने टोली हो । सन् २००३ र २००७ मा लगातार विश्व विजेता बनेको जर्मनी गत संस्करणमा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

जर्मनी हरेक पटक कम्तिमा क्वाटरफाइनल पुगेको छ । इटाली केवल चौथो पटक महिला विश्वकप खेलिरहेको छ । २० वर्षपछि अघिल्लो संस्करणमा छनोट भएको इटाली त्यतिबेला क्वाटरफाइनलसम्म पुगेको थियो ।

गत पुरुष विश्वकपमा फाइनल पुगेको फ्रान्सको महिला विश्वकपमा भने प्रभाव देखिँदैन । फ्रान्सले केवल पाँचौं पटकमात्र महिला विश्वकप खेलिरहेको छ । अघिल्ला दुवै संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

उरुग्वेले हालसम्म महिला विश्वकप खेल्न सकेको छैन । स्पेनले सन् २०१५ र २०१९ मा विश्वकप खेलेको थियो यसअघि । तर दुवै सहभागितामा स्पेन प्रिक्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन ।

इङ्ल्याण्डले छैटौं पटक महिला विश्वकप खेलिरहेको छ । इङ्ल्याण्डले अघिल्ला दुवै संस्करणमा सेमिफाइनलको यात्रा तय गरे पनि फाइनल भने पुग्न सकेको थिएन ।

फिफाले हरेक वर्ष प्रदान गर्ने वर्ष सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड पछिल्ला दुईपटक स्पेनकी अलेक्सिया पुटेलासले पाएकी थिइन् ।

बिज्ञापन