राष्ट्रिय समाचार

भारतमा नेपालबाट दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

बिज्ञापन

काठमाडौं – नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ ।

बिज्ञापन

नेपाली बजारका लागि १ हजार ७ सय मेगावाटदेखि २१ सय मेगावाटसम्म मात्र माग रहेकोमा अहिले हालसम्ममा कुल २ हजार ८ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि प्राधिकरणले चीनमा समेत निर्यात गर्ने योजना अगाडि सारेको छ ।

चीनमा बिजुली निर्यातका लागि प्राधिकरणले चीन जोड्ने रातमाटे–रसुवागडी–केरुङ ४०० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरिसकेको छ । नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब ४ सय ५० मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

भारत निर्यातका लागि करिब ६ सय मेगावाट थप आयोजना भारतको विद्युत् मन्त्रालयमा सहमतिको प्रक्रियामा रहेको जनाएको छ ।

यसैगरी, बंगलादेशमा विद्युत् निर्यातका लागि भारतको एनभीभीएन, बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरणबीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आव २०७८/७९ मा ७५१ र २०७९/८० मा ६३२.३७ मेगावाट गरी जम्मा १ हजार ३ सय ८३ मेगावाटका जलविद्युत् तथा सौर्य आयोजनाबाट उत्पादन सुरु भएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा मात्रै पनि ८९ दशमलव ८ मेगावाटका ५ आयोजनाले उत्पादन सुरु गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
   

बिज्ञापन