राष्ट्रिय समाचार

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


ढोरपाटन । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

बिज्ञापन

बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पु¥याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनले बताए । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ ।

‘केही दिन भयो दिनदिनै पानी परी राखेको छ, हिजोदेखि ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडी जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ’, अध्यक्ष पौडेलले भने, ‘वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पु¥याउने देखिन्छ ।’

यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।