Uncategorized

वीरेन्द्र विद्या मन्दिरमा सवा करोडको लगानीमा छात्राबास निर्माण

बिज्ञापन

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर उच्च माविमा एक करोड २३ लाख ४१ हजार रुपियाँको लगानीमा तीन तले २६ कोठाको छात्राबास निर्माण भएको छ । विद्यालयको छात्राबासमा बसेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नमूना विद्यालय कार्यक्रमबाट छनोट भएका ११३ जना र शुल्क तिरेर पढने ५६ जना बालबालिका पढिरहेका छन् ।
छात्राबासका पुराना ब्लकहरु जीर्ण भई कमजोर भएकाले नगरपालिकाले छात्राबास बनाई दिएको विद्यालयका प्राचार्य फणेन्द्रराज रेग्मीले बताउनुभयो । अब यहाँ छात्राबासका ५० जना छात्राहरुलाई राखिने प्राचार्य रेग्मीले बताउनुभयो । 
टीकापुर नगरपालिकाको लगानीमा निर्माण भएको छात्राबासको नाम रत्नप्रसाद स्मृति छात्राबास’ राखिएको छ । स्वर्गीय रत्नप्रसाद सञ्ज्याल २०३७ सालदेखि २०४८ सालसम्म यही विद्यालयको प्रधानाध्यापक र २०५४ साल टीकापुर नगरपालिकाको नगर प्रमुख निर्वाचित हुनुभएको थियो । 
२०३१ फागुन ७ गते तत्कालिन टीकापुर विकास समितिले सबै खर्च व्यहोर्ने गरी स्थापना भएको वीरेन्द्र विद्या मन्दिर माविका मूल भवन र छात्राबास ब्लकहरु जीर्ण भैरहेका छन् । २०६४ सालमा टीकापुर विकास समिति फेजआउट भैसकेपछि विद्यालय गुठीका रुपमा चलेको छ भने शिक्षामा सरकारी लगानी छैन । 
माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको मातहतमा रहेकाले छात्राबास बनाउन बजेट छुट्टयाएको टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख तपेन्द्रबहादुर रावलको भनाई छ ।
विद्यालयका अध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले नगरपालिकाको सहयोगले छात्राहरुका लागि सुरक्षित आवास तयार भएको र छात्रको लागि पनि आवास आवश्यक रहेको बताउनु भयो ।
छात्राबासको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले स्थानीय सरकार शिक्षाको जिम्मेवारीबाट पछि हटन नसक्ने बताउदै विद्यालयको आवश्यकतानुसार छात्रहरुका लागि आवास बनाउने प्रतिवद्धता जनाउदै यसमा माथिल्लो तहका सरकारको सहयोग पनि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमका वक्ताहरुले विद्यालयका प्राचार्य स्वर्गीय रत्नप्रसाद सञ्ज्याल कुशल शिक्षक, कुशल प्रशासक रहेको र उहाँ प्राचार्य भएको बेला विद्यालयले शैक्षिक र खेलक्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको चर्चा गरेका छन भने राजनीतिक खिचातानीका कारण जर्जर भएको वीरेन्द्र विद्या मन्दिरको विकासका लागि स्थानीय सरकारले नेतृत्व र व्यवस्थापनको जिम्मा लिनुपर्ने आवाज उठेको छ । 
वीरेन्द्र विद्या मन्दिरका पूर्व प्राचार्य यज्ञराज ज्ञवालीले वीरेन्द्र विद्या मन्दिरलाई सरकार मातहत लैजान संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गरिएको तर कसैले पनि चासो नदिएको बताउनु भयो । –साभार–टीकापुर एफ.एम.

बिज्ञापन
बिज्ञापन