खेलकुद

एसिया कप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

बिज्ञापन

क्यान्डी, श्रीलंका — नेपालले एसिया कप क्रिकेटको समूह चरणको निर्णायक खेलमा राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त भएन । फलत: नेपाल विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भयो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए ।

बिज्ञापन

भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल पालेकेले क्रिकेट रंगशालामा ४८.२ ओभरमा २ सय ३० रनमा अलआउट भएको थियो । भारतले जवाफमा २.१ ओभरमा १७ रन बनाएको अवस्थामा खेल वर्षाले झन्डै २ घन्टा बिथोलेको थियो । डकवर्थ लुइस पद्धतिमा भारतलाई २३ ओभरमा १ सय ४५ रनको लक्ष्य दिइएको थियो ।

रोहित र गिलले नेपालको चुनौतीलाई सजिलै पन्छाएका थिए । रोहित ७४ र गिल ६७ रन बनाउँदै अविजित रहे । रोहितले ३७ र गिलले ४७ बलमा अर्धशतक पूरा गरेका थिए । रोहित र गिल वर्षापछि नेपाली बलरमाथि आक्रामक रूपमा प्रस्तुत भएका थिए । रोहितले ५९ बल खेली ६ चौका र ५ छक्का तथा गिलले ६२ बल खेली ८ चौका र १ छक्का प्रहार गरे ।

एसिया कपमा नेपालको यो पहिलो सहभागिता थियो । बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको थियो ।

कुशल र आसिफले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको सुरुवातमा मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।

आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । मोहम्मद सिराजको बलमा टप एज लागेपछि विराट कोहलीले एक हाते क्याच लिई उनलाई पेभेलियन फर्काएका थिए । कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए ।कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । अफस्टम्पबाहिर गएको शार्दुल ठाकुरको बलमा छुन खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिरको रोड छेउपारि कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।

भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे ।कुशल मल्लले पुनः एक पटक निराश बनाए । जडेजाको बलमा उनले २ रनमा मिड अनमा सजिलो क्याच दिए ।गुल्शन झाले २३ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए ।

दीपेन्द्रले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे ।सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २ रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए । भारतबाट जडेजा र सिराजले ३–३ विकेट लिए ।

जडेजाले १० ओभरमा ४० र सिराजले ९.२ ओभरमा ६१ रन खर्चे । मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो ।

बिज्ञापन