Climate

आजको मौसम : सुदूरपश्चिम र लुम्बिनीमा वर्षाको सम्भावना

बिज्ञापन

काठमाडौँ,  भदौ २९ गते । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्गलादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका  केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँमा आज आंशिकदेखि सामान्य बदली भई अपराह्नपख मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँमा सामान्य बदली रहेको र वायुको तापक्रम ३२ डिग्री सेन्टीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।

यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।  रासस

बिज्ञापन