राजनीति

नेकपा एस विभाजनको कारण बन्दै अपानिः झलनाथ खनालसहित यी नेताहरू एमाले फर्किने तयारीमा छन्

बिज्ञापन

काठमाडौं– नेकपा एकीकृत समाजवादी (एस) भित्र भाँडभैलो सुरु भएपछि सम्मानित नेता झलनाथ खनालसहित पदाधिकारीको ठूलो संख्या एमाले फर्किने तयारीमा छन्। उनीहरूलाई पार्टीमा फर्काउनका लागि आन्तरिक रुपमा एमालेभित्र पनि नेताहरू सक्रिय भइसकेका छन्।

बिज्ञापन

हालै सम्पन्न केन्द्रीय समितिको बैठक राखी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनपरी ढंगले जिम्मेवारी दिएपछि असन्तुष्टि चुलिएको पार्टीको केन्द्रीय नेतृत्व पंक्ति नै खाली हुने स्थितिमा पुग्न लागेको हो।

खनालसहित सचिव रामकुमारी झाँक्री र स्थायी समिति सदस्यसहित सचिवालयका अन्य नेता पनि एमाले फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ। खनालले पनि एमाले फर्किन सकिने सांकेतिक रुपमा सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा व्यापक फेरबदल गरेको थियो। त्यहि अपानि नेकपा एस विभाजनको कारण बन्ने लगभग तय छ।

खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, सचिव राजेन्द्र राई, रामकुमारी झाँक्री लगायत ५० नेता हाल फेरबदल गरिएको जिम्मेवारी हेरफेरप्रति आक्रोशित छन्। यीनै नेताहरूलाई एमालेमा फर्काउनका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतलाई अध्यक्ष केपी शर्मा ओलीले खटाउने लगभग निश्चित रहेको उच्च स्रोतले जनाएको छ।

‘एमालेको पूर्वअध्यक्ष समेत रहेका कारण झलनाथ खनालसँग वार्ता हुनेछ। लगत्तै उहाँको नेतृत्वमा एमाले छाडेर गएका नेता कार्यकर्ता भित्राउने कोशिश जारी राखेका छौं’, एमाले स्रोतले भन्यो।

नेकपा एसमा अध्यक्ष नेपालले मनोपोली गर्न थालेको, वैचारिक दृष्टिकोणमा पनि मतभेद सुरु भएको र खासगरी एमसीसीका विषयमा पनि मतभिन्नता देखिएको थियो। खनाल एमसीसीको विपक्षमा उभिएको बेला अध्यक्ष नेपालले भने यसका टाउको दुखाउनुपर्ने विषय नरहेको बताइरहेका छन्।

यति मात्र होइन, स्थायी समिति बैठकमा खनालले १६ बुँदे फरक प्रस्ताव पनि पेश गरेका थिए।

बिज्ञापन