आज शिक्षकहरुसँग सहमति हुनेमा विश्वस्त छौँः कानुनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज सहमति हुनेमा विश्वास व्यक्त गरेका छन् ।
सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफलपछि उनले आज शिक्षकहरुसँग हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका हुन् ।

छलफलपछि उनले भने– ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’ आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा अहिले वार्ता जारी छ। वार्तामा गृहमन्त्री, शिक्षामन्त्री र नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्।
तीन दिनदेखि शिक्षकहरू निरन्तर आन्दोलनमा रहेका छन् । आज पनि उनीहरूको आन्दोलन जारी रहेको छ । विद्यालय शिक्षा विधेयकविरुद्ध उनीहरु काठमाडौं केन्द्रीय आन्दालेनमा आएपछि देशभरका सरकारी विद्यालयका पठनपाठन ठप्प भएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
