घटना समाचार

बाघले सात खसी–बाख्रा मार्‍यो

बिज्ञापन

खजुरा, असोज २८ गते । बाँकेको कोहलपुरमा बाघले स्थानीयका सात वटा खसी बाख्रा मारेको छ । बाघले कोहलपुर नगरपालिका –१३, भरैयास्थित सिराहाटोलका स्थानीयका खसी बाख्रा मारेको हो ।

बिज्ञापन

गत शुक्रवार बेलुका र राति गरेर सिराहाटोलका शशिराम वली र नैनी रानाको खसी बाख्रा बाघले मारेको कोहलपुर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चारवटा खसी र तीनवटा बाख्रा बाघले मारेको छ । सातवटा खसी बाख्रालाई घाइते बनाएर छाडेको छ ।

अध्यक्ष खड्काका अनुसार बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने श्री बहिनी खोला सामुदायिक वनमा बाख्रा चराएर बेलुका घरतिर फर्कनेक्रममा केही बाख्रा मारेको र केही बाख्रालाई सोही दिन राति खोरबाट मारेको हो ।

दुवै जनाको बाख्रा एकै समूहमा चराएर स्थानीयहरूले केही बाख्रा घरमा ल्याएका र केही बाख्रा बनमै छुटेको उहाँले जानकारी दिनुभयो । बाघले बनमा छुटेका केही बाख्रालाई मारेर खाएको र केही बाख्रालाई राति खोरबाट मारेर लगेको खड्काले बताउनुभयो । खोरबाट बाहिर तानेर केहीलाई मारेर छोडेको र केहीलाई आधा भाग खाएर छाडेको उहाँले जानकारी दिनुभयो ।

यति धेरै सङ्ख्यामा खसी र बाख्रा बाघले मारेकाले पीडित स्थानीयको क्षतिपूर्तिका लागि प्रक्रिया मिलाएर सम्बन्धित निकायसम्म आवश्यक पहल गर्ने वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । 

दैनिक जीवन गुजाराका लागि वर्षौँदेखि पाल्दैआएको खसी बाख्रा चाडबाडका समयमा बाघले मारिदिँदा स्थानीय चिन्तित बन्नुका साथै त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जको आसपासका क्षेत्रमा बाघले स्थानीयका पशुचौपायालाई आक्रमण गर्नेक्रम रोकिएको छैन । 

केही दिनअघि मात्र बाँके राष्ट्रिय निकुञ्ज नजिकै पर्ने राप्तीसोनारी २ मदुईका स्थानीय बासिन्दाका बाख्रा, भैँसी तथा गाईगोरु लगायतका घरपालुवा पशुमाथि बाघले दैनिकजसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छाड्ने गरेको थियो । 

बिज्ञापन