खेलकुद

विराटसँग जर्सी उपहार लिएको भन्दै पाकिस्तानमा बाबर आलोचित, अक्रमले दिए कडा प्रतिक्रिया

बिज्ञापन

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजम लामो समयदेखि एक दिवसीय क्रिकेटको नम्बर एक वरियतामा छन् । तर, भारतमा जारी विश्वकपमा बाबरको ब्याट खासै खुलेर बोल्न सकिरहेको छैन ।

बिज्ञापन

भारतविरुद्ध हिजो भएको समूह चरणको खेलमा पाकिस्तानले शर्मनाक हार व्यहोर्‍यो । बाबरले अर्धशतक बनाए पनि म्याच विनिङ पारी खेल्न सकेनन् । पाकिस्तानले दिएको १९१ रनको झिनो लक्ष्य भारतले ७ विकेट बाँकी हुँदै पूरा गरेको थियो ।

हारको चोटले रन्थनिइरहेका पाकिस्तानी समर्थकहरु बाबरको एउटा गेस्चरले थप मर्माहत बनेका छन् । खेल सकिएपछि बाबर र विराटको एउटा फुटेज बाहिर आएको छ, जसमा बाबरले विराटको हातबाट भारतको जर्सी लिइरहेको देखिन्छ । भारतीय मिडियाले बाबरले विराटको अटोग्राफसहितको जर्सी उपहार मागेको भनेर प्रचार गरिरहेका छन् ।

पाकिस्तानीहरु बाबरलाई विराटका प्रतिस्पर्धी ब्याट्सम्यानका रुपमा सोच्छन् । एक दिवसीय वरियतामा नम्बर १ बाबरले विराटको हातबाट फ्यान व्वाइ जसरी जर्सी उपहार लिइरहेको दृश्य पचाउन सकिरहेका छैनन् ।

पाकिस्तानी च्यानल ए स्पोर्ट्समा जारी बहसका क्रममा एक फ्यानले प्यानल अफ एक्सपर्टसमक्ष यो विषय उठाएका थिए । यस्तो खाले ‘गेस्चर’ आमदर्शकको अगाडि देखाउनुको साटो ड्रेसिङ रुममा गरेको भए उचित हुने उनको तर्क थियो । एक्सपर्ट प्यानलमा रहेका पाकिस्तानी लिजेन्ड वसिम अक्रमले पनि यसमा सहमति जनाए ।

‘मैले पनि यो तस्वीर देखेपछि ठ्याक्कै यही भनेको थिएँ’, अक्रमले भने, ‘यो आज गर्ने काम होइन । यदि यस्तो गर्नु नै थियो भने, यदि तिम्रो चाचाको छोराले कोहलीको जर्सी चाहियो भनेको थियो भने म्याचपछि ड्रेसिङ रुममा मागेको भए हुन्थ्यो ।’

बिज्ञापन