व्याक्ती बिशेष

एकै वर्षमा १० वटा लोकसेवाका परीक्षा पास गर्न सफल रमेश भन्नुहुन्छ: असल राष्ट्रसेवक बन्छु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तम्घास, कात्तिक ४ गते । एक वर्षको समय अवधिमा लोक सेवाबाट लिइएका १० वटा परीक्षा उत्तीर्ण गर्नुभएका गुल्मीका रमेश भण्डारी आफू असल राष्ट्रसेवक बन्ने बताउनु भएको छ ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुका २५ वर्षीय रमेश भण्डारी हालै सङ्घीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । भण्डारीले  कर्मचारीको उपल्लो तहसम्म पुग्ने प्रयाससँगै देश र जनताको हितमा रहेर काम गर्ने बताउनु भएको छ ।

बिज्ञापन

लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेकाले खुसी लागेको भण्डारीले बताउनुभयो । छोटो समयमै निजामती सेवा, बैङ्किङ सेवा, सार्वजनिक संस्थान, प्रदेश र स्थानीय सेवा समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको उहाँले बताउनुभयो । यो नतिजाले अझै जिम्मेवारी थपिएको भन्दै राष्ट्र र जनताले चाहेअनुसार सेवा प्रदान तथा भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने भण्डारीले बताउनुभयो ।

२०७८ सालमा पहिलो पटक शाखा अधिकृतमा असफल हुनुभएका भण्डारीले दोस्रो पटकमा भने निरन्तरको मेहनतले नाम निकाल्न सफल भएको बताउनुभयो । लोकसेवाको परीक्षामा सफल बन्नका लागि निरन्तर मेहनत नै आवश्यक रहेको उहाँको भनाई छ । सानै उमेर देखी अध्ययनमा रुचि राख्ने भएकाले आफूलाई घरपरिवारको साथ र सपोर्टले नै सफलता हासिल गर्न प्रेरणा मिलेको बताउनुभयो । लोक सेवा तयारी गरेकाहरूलाई निरन्तर अध्ययन र लेखन गर्न उहाँले सुझाव दिनुभयो । लोक सेवाले लिएको परीक्षामा अनुर्तिण भए भन्दै हार खान नहुने र निरन्तर प्रयास गरेमा सफल बन्न सकिने भण्डारीले बताउनुभयो ।

भण्डारीले गण्डकी प्रदेश स्थानीय पाँचौँ तह ( प्रशासन सँगै लेखा), सङ्घमा नायब सुब्बा प्रशासन समूह, सङ्घमै नायब सुब्बा लेखा तथा लेखापरीक्षण समूह, कृषि विकास बैङ्क पाँचौँ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत् प्राधिकरण पाँचौँ तह लेखा समूह, नेपाल विद्युत् प्राधिकरण चौथो तह उत्तीर्ण गर्नुभयो । त्यस्तै नेपाल टेलिकम छैटौँ तह सहायक व्यापार अधिकृत, नेपाल टेलिकम चौथो तह उत्तीर्ण गर्नुभयो ।

भण्डारीले भन्सार विभागले करिब २२ वर्षपछि विज्ञापन गरेको भन्सार एजेन्टको लाइसेन्सको परीक्षा पनि उत्तीर्ण गर्नुभएको थियो । निजामती सेवा प्रवेश गरेपछि उहाँले सो लाइसेन्स खारेज गर्नुभएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।