राजनीति

चुनावी खर्च उठाउने प्रवृत्तिले भ्रष्टाचारमा मलजल पुग्यो : सांसद खातुन

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ जावेदा खातुन जागाले निर्वाचनका बेला नेताहरुले मतदातासमक्ष गरेका वाचा र प्रतिबद्धता पूरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताएकी छन् । उनले चुनाव प्रसारप्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवासुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालय मन्त्रालयमा  भेटिनुलाई अन्यथा लिन नहुने धारणा राखिन् ।

बिज्ञापन

नेतृ खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसके तापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिइन् ।

मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के–कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय सङ्ख्यात्मक संरचनाले तीव्ररुपमा कानून निर्माणमा चुनौती खडा गरेको जनाइन् ।

हिउँदे र बर्खे अधिवेशन सकिँदासम्म जति कानून निर्माण गर्नुपर्ने हो त्यो नभएकामा आलोचना भइरहेको बताउँदै उनले जनताका आवाज र कानून निर्माणलाई सबै राजनीतिक दलले साझा एजेण्डा बनाउनपर्नेमा जोड दिइन् ।

सांसद खातुनले भनिन्, “स्वार्थको राजनीतिक कारण एकअर्काको अस्तित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने, सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आआफ्नो स्वार्थ रहने परिस्थितिले कानून तर्जुमालाई तीव्रता दिन चुनौती खडा भएको छ ।”

खातुनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुनपर्नेमा सस्तो लोकप्रियताका लागि नियमापत्ति गर्ने, आरोपप्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएको टिप्पणी गरिन् । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै कांग्रेस केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुबान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र वन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहेको बताइन् ।

उनी भन्छिन्, ‘विकास निर्माण त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न पर्‍यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकैरुपमा छ । पुल आवश्यक छ ।’

खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका लागि चुनौती खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पुर्‍याएको धारणा राखिन् ।

हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसाबले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उनले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पुर्‍याउन आवश्यक रहेको औंल्याइन् ।

विचारमा बलियो र निष्ठावान् भए पनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै गरिब र जनताको सेवामा समर्पित व्यक्ति अघि बढ्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

मुलुकको शिक्षा क्षेत्र र उद्योगधन्दा पर्वर्दनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको खातुन बताउँछिन् ।

प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्यसमेत रहेकी सांसद खातुनले बर्दिया सबैखाले समुदायबीच हार्दिकता र  सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाका रुपमा स्थापित रहेको बताइन् ।

बिज्ञापन