राष्ट्रिय समाचार

रिगललाई अदालत बुझाइँदै

बिज्ञापन

बाँके, कात्तिक १७ गते । सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ परेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई आज (शुक्रवार) अदालतमा बुझाउने तयारी गरिएको छ । 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ढकाललाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘शुक्रवार कार्यालय समयमै जिल्ला अदालतमा बुझाउँछौँ, त्यसपछि अदालतको निर्णयका आधारमा हुनेछ, उहाँले भन्नुभयो । 

यसअघि जन्मकैद सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेश लगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीहरूले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गर्नुभएको छ ।

 नेपालगन्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । घटनाको समय रिगल नेपाल तरुण दल क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति रहनुभएको थियो । अदालतले कर्तव्य ज्यानमुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी परमादेश दिएको छ ।

बिज्ञापन