राष्ट्रिय समाचार

पोखरा विमानस्थलमा अख्तियारको छापा

बिज्ञापन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको घोटाला प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि गम्भीर रुपमा छानबिन थालेको छ । विमानस्थल निर्माणका क्रममा अधिकारीले नै १२ अर्बबाट लागत बढाएर दोब्बर बनाएको आरोपमा उनीमाथि थप अनुसन्धान शुरु भएको हो ।

बिज्ञापन

अख्तियारले दशैँलगत्तै १२ र १३ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा छापा मारेको थियो । विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी आयोगमा परेपछि कागजात नियन्त्रणमा लिइएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंकखाता पनि रोक्का राखेको छ । विमानस्थल आयोजना कार्यालयले अख्तियारको टोली पोखरा पठाएको थियो । पोखरा विमानस्थलमा गुणस्तरहीन सामग्री प्रयोग गरी निर्माण गरेको त छँदैछ, टेण्डर प्रक्रियादेखि सेटिङ गरी राज्यलाई अरबौं नोक्सान पारेको बिषयमा पनि अख्तियारले अनुसन्धान शुरु गरेको छ ।

१२ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुनेगरी स्टीमेट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाएर दोब्बर बनाएको भन्दै अख्तियारमा उजुरी परेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख नेपाल नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारी नै थिए ।

अधिकारीले नै १२ अर्बबाट लागत बढाएर दोब्बर बनाएका हुन् । जुनसुकै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रभावमा पार्न सफल हुँदैआएका अधिकारीले सबैतिर सेटिङ गरी पोखरा विमानस्थलको लागत बढाएको स्रोतको दाबी छ ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल भएको थियो ।

आयोजना प्रमुख रहेका अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीलाई दिएका थिए । सीएएमसी इन्जिनियरिङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए ।

पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले हालसालै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएर ठूलो आर्थिक लाभ लिएको आरोप छ । क्षमादवी कम्पनीमा एमाले नेता महेश बस्नेतका नजिक पात्र नवीन बस्नेतको संलग्नता रहेको स्रोतले जनाएको छ ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको प्रमुख हुँदा सेटिङमा अरबौंको ठेक्का दिएको र प्रतिस्पर्धालाई नै सीमित गरी राज्यलाई अरबौं नोक्सान पार्ने काम गरेका महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ७ अर्ब ८० करोड रुपैयाँको ठेक्का सेटिङमा चाइनिज कम्पनीलाई दिएको आरोप लागेको छ ।

१ अर्ब २४ करोड कम कबोल गरेको कम्पनीलाई नदिई सेटिङमा ठेक्का दिइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखराको ठेक्कामा अरबौं रुपैयाँको ठेक्का सेटिङ गरेका अधिकारीले परामर्शदाताको छनोटमा आर्थिक चलखेल गरी वर्तमान प्रधानमन्त्रीपुत्री गंगा दाहाललाई समेत प्रभावित पारेका थिए ।

जसका कारण पर्यटनमन्त्री सुदन किरातीले समेत उनलाई हटाउन सकेनन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरामा भएको ठेक्कामा उनको ठूलै चलखेल रहेको छ । भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि प्रदीप अधिकारीले नेकपा एसमा नेता धनबहादुर बुढा र एमाले अध्यक्ष केपी ओलीनिकट ठान्ने तर, महेश बस्नेतसँग हिड्ने नवीन बस्नेतलाई सेटिङमै दिएका छन् । नवीनले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि सम्बन्ध राम्रो भएको भन्दै प्रचार गर्दै हिडेका छन् ।

बिज्ञापन