कृषि

एक रुपैयाँ किलोमा पनि बिकेन थाहा नगरको ‘मुला’

बिज्ञापन

थाहानगर । बेमौसमी तरकारीको ‘पकेट’ क्षेत्र मानिएको उत्तरी मकवानपुरको थाहा नगरमा उत्पादन भएको तरकारीको उचित मूल्य नपाउँदा मारमा परेका छन् ।

बिज्ञापन

थाहा नगरका किसानहरूको मुख्य आमदानीको श्रोतमा रहेको तरकारीले उचित मूल्यको बजार नपाउँदा उनीहरूले आफूले लगानी गरेर उत्पादन गरेको भन्दा निकै कम मूल्यमा तरकारी बेच्नु परेको छ । अझ किसानकै भाषामा भन्दा उनीहरूले उत्पादन गरेको तरकारी ‘कौडी’को भाउमा बेच्नु परेको छ ।

थाहा नगर क्षेत्रमा यति बेला टमाटर, काउली तथा मुला उत्पादन भइरहेको छ । तर किसानहरू उत्पादन भएको तरकारीले भाउ नपाउँदा निराश छन् । लाखौँ रुपैयाँ लगानी गरेर निकै मेहनतको साथमा उत्पादन गरेर बेच्ने बेलामा भाउ नआउँदा यहाँको किसानमा निराशा छाएको छ ।

उनीहरूले उत्पादन गरेको तरकारी सित्तैमा लैजाऊ भन्दा पनि मानिस नभएको भन्दै उत्पादित तरकारीलाई बारिमा नै नष्ट गर्नुपर्ने वाध्यात्मक अवस्थाको सृजना भएको किसानहरूको भनाई छ ।

नेपाल प्रेससँग कुरा गर्दै थाहा नगरपालिका वडा नम्बर २ का किसान निरोज प्रधान अहिले एक रुपैयाँ किलोमा पनि मुला बिक्री गर्न नसकेको बताउँछन् ।

उनले भने, ‘एक पोका मुलाको बिउ २५ सय रुपैयाँसम्म पर्छ । अर्थात् एक गेडा मुलाको बिउको मात्र ५ रुपैयाँ पर्न आउँछ तर उत्पादन भएको मुला एक रुपैयाँमा पनि बिक्री नहुँदा अहिले हामीलाई निकै समस्या परेको छ । काउलीको मूल्य पनि उस्तै छ ।’

अहिले थाहा नगरपालिकामा प्रति किलो ५ रुपैयाँमा काउली बेच्न किसान बाध्य छन् । ‘आफूले ५ रुपैयाँमा बेचेको काउली नजिकैको काठमाडौँ र हेटौँडामा ५०–६० रुपैयाँ किलोमा बिक्री भइरहेको आँखैले देख्नु परेको छ तर हामी किसानहरू भने सधैँ मारमा नै छौँ, उनले भने ।

थाहा नगरपालिकालाई बेमौसमी तरकारी उत्पादन केन्द्रको रूपमा लिइएको छ । यहाँको तरकारी नेपालको हरेक जिल्लाको बजारमा पुग्ने गरेको छ । तर उत्पादनकर्ता किसान भने सधैँ घाटामा रहेको कारण युवाहरूले तरकारी खेतीलाई अब पेशाको रूपमा लैजाने अवस्था कम हुँदै गएको थाहा नगरका अर्का किसान रामसिंह वाइबा बताउन् ।

उनले भने ‘हामीले निकै मेहनत गरेर तरकारी उमार्छौँ, मल पानीको उचित व्यवस्थापन गरेर फलाउँछौँ तर बिक्री गर्ने बेलामा भने सधैँ घाटा मात्र हुने भएपछि अब यस्तोखाले व्यवसाय गरेर कसरी परिवार पाल्न सक्छौ र ?’

तरकारी उत्पादन गरेर घरपरिवारलाई पाल्न समस्या हुँदै गएपछि यहाँका सयौँ किसानहरू वैदेशिक रोजगारीको लागि जानु परेको उनको भनाई रहेको छ ।

बिज्ञापन