Sudur Pradesh News

कैलालीमा हुलाकी राजमार्ग निर्माणको सम्झौता अवधि सकिँदै, ३९ प्रतिशत काम बाँकी

बिज्ञापन

धनगढीः कैलालीमा हुलाकी राजमार्ग निर्माणको समय आगामी पुसमा सकिँदैछ। गत वर्ष पहिलो पटक थप गरिएको समय आगामी पुसमा सकिने लागेको हो।

बिज्ञापन

तर, राजमार्ग निर्माणको ३९ प्रतिशत काम बाँकी रहेको छ। धनगढी खण्डमा चार लेनको सडक निर्माणको काम पूरा भए पनि अन्य क्षेत्रमा नाली निर्माणको कामसमेत पूरा भएको छैन्। लम्की–टीकापुर खण्डमा पनि ८ किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ। बाँकी क्षेत्रमा नाली निर्माणको काम जारी छ।

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले धनगढी खण्डको सात किलोमिटर सडक कालोपत्रको काम पूरा भएको बताए। उनले भने, ‘क्याम्पस चोकदेखि सात किलोमिटर सम्पन्न भयो। तीन किलोमिटर यो महिना हुन्छ। टीकापुरदेखि माथि पनि ८ किलोमिटर कालोपत्र गरिएको छ। बाँकी क्षेत्रमा कालोपत्रको तयारी हुँदैछ।’

धनगढीमा क्याम्पस चोकदेखि टीकापुर र लम्कीदेखि टीकापुर गरेर ६९ किलोमिटर सडकलाई दुईदेखि चार लेनसम्म स्तरवृद्धि गर्न ठेक्का गरिएको थियो। धनगढीमा तीन किलोमिटर चार लेनकोसहित सात किलोमिटर सडक कालोपत्रको काम पूरा भएको छ। धनगढीस्थित क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर)सम्मको तीन किलोमिटर सडकलाई चार लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तार गरिँदैछ। बसन्ता सम्मको २८ किलोमिटर र बसन्तादेखि सत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–सत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरवृद्धिको काम हुँदैछ। उनले भने, ‘नालीको धनगढीमा काम पूरा भएको छ। साढे तीन किलोमिटरको कामसमेत सकिएको छ। बाँकी क्षेत्रमा नाली छैन। कान्द्रदेखि टीकापुरसम्मका नाली निर्माणको काम जारी छ। सबै सडकमा नाली भने छैन।’

३० किलोमिटर लम्बाइ रहेको लम्की–टीकापुर सडकखण्डको दुई किलोमिटर क्षेत्रमा भने सहरी विकासले निर्माण गरेको थियो। भारतले निर्माण गरी हस्तान्तरण गरेको हुलाकी सडककोे चौडाई तीन दशमलव ७५ मिटर मात्रै रहेको थियो। तर, धनगढीको तीन किलोमिटर १४ मिटर र बाँकी दुई लेनमा विस्तार गरी सात मिटर चौडा बनाइनेछ। सात खण्डमा सडक स्तरवृद्धि गर्न ठेक्का सम्झौता गरिएको छ। तर, सडक निर्माणका लागि बजेट पनि अभाव छ। चालु आर्थिक वर्षका लागि ३९ करोड मात्र सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्ष चार करोड भुक्तानी दिएकाले ३५ करोडको काम मात्र चालु आर्थिक वर्षमा हुने छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, ‘गत आर्थिक वर्षमा ७५ करोड बजेट विनियोजन गरिएको थियो। यो आर्थिक वर्ष मा सक्ने लक्ष्य हो। तर, बजेट नभएकाले सक्न गाह्रो भएको छ।’

धनगढीमा नालीसहितको चार लेनको सडक निर्माण गरिएको छ। बाँकी सडकमा बस्ती रहेको क्षेत्रमा मात्र नाली निर्माण गरिएको छ। तर, कान्द्रादेखि टीकापुरसम्मको सडकमा नाली र कलभर्टको कामसमेत बाँकी नै छ। कैलालीमा हुलाकी राजमार्ग थप गरिएको समयमा समेत निर्माण पूरा नहुने देखिएको छ। हुलाकी राजमार्ग निर्देशनालयले गत वर्ष एक वर्षका लागि कैलालीमा राजमार्ग निर्माणको समय थप गरेको थियो।

तर, निर्माण कम्पनीले थप गरिएको समय सकिन एक महिना मात्र बाँकी रहेका बेला ३९ प्रतिशत निर्माणको काम गर्न बाँकी छ। हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका अनुसार लम्की–टीकापुर खण्डमा ८ र धनगढी खण्डमा ७ किलोमिटर सडक कालोपत्रको काम बने पूरा भएको छ।

बिज्ञापन