राष्ट्रिय समाचार

प्रयोगमा ल्याइँदै ई-लाइसेन्स

बिज्ञापन

काठमाडौं । अहिले ट्रायल पास भएका र नवीकरण गरेकाहरुले डेढ वर्षदेखि नयाँ लाइसेन्स पाएका छैनन् । लाइसेन्स प्रिन्ट गर्ने एउटामात्रै मेसिन र कार्ड अभावका कारण नागरिकले लाइसेन्स पाएका छैनन् ।

बिज्ञापन

लामो समयदेखि लाइसेन्सको समस्या यथावत रहेपछि यातायात व्यवस्था विभागले ई-लाइसेन्स (विद्युतीय) को अवधारणा अगाडि बढाएको छ । लाइसेन्स प्रिन्ट र कार्ड खरिदमा वार्षिक अर्बौं रुपैयाँ विदेशिने गरेको छ ।

विभागले लाइसेन्स लिन नागरिकले पाएको झन्झटलाई अन्त्य गर्न र पैसा विदेशिन नदिन ई-लाइसेन्सको काम अगाडि बढाएको हो । सरकारले नै सेवा प्रवाह गर्ने निकायहरुसँग छलफल गरिसकेको छ । कसरी विभिन्न सरकारी सेवा नागरिकलाई सहज तरिकाले दिने भन्ने विषयमा भएको छलफलमै ई-लाइसेन्सको व्यवस्था गर्ने विषयले प्राथमिकता पाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले ई-लाइसेन्स सञ्चालनमा ल्याउने विषयमा छलफल सुरु भएको बताए ।

उनले भने, ‘अहिले यातायातको सबैभन्दा ठूलो समस्या भनेको नयाँ लाइसेन्स वितरण गर्न नसक्नु हो । विभाग कसरी छिट्टै लाइसेन्स सहज र सरल तरिकाले वितरण गर्ने भन्ने विषयमा केन्द्रित छ ।’

उनले नागरिक एपमा सबै डाटा रखेर विद्युतीय लाइसेन्स सहज तरिकाले दिन सकिने विषयमा पनि छलफल भएको बताए ।

‘नागरिक एपमा सबै डाटा हाल्न सकियो भने लाइसेन्स बनाउन आउने नयाँ र पुरानाको डाटा तानेर ई-लाइसेन्स दिन सकिन्छ’, उनले भने, ‘नागरिक एपलाई प्रभावकारी बनाउन सकियो भने सर्वसाधारणले बायोमेट्रिक दोहोर्‍याएर दिनुपर्दैन । त्यहीअनुसार अगाडि बढ्ने भन्ने छलफल भएको छ ।’

नेपालमा स्मार्ट कार्ड प्रयोग भएको लाइसेन्स वितरण हुन थालेको करिब ७ वर्ष भएको छ । यसबीचमा १५ लाख लाइसेन्स वितरण भएको विभागले जनाएको छ । अहिले ट्रायल पास गरेका र नवीकरण गरेका १० लाखभन्दा धेरैले लाइसेन्स पाएका छैनन् ।

‘विभागकै अग्रसरतामा नागरिक एपमा लाइसेन्स देखाउन मिल्ने बनाएका थियौं । ट्राफिकले लाइसेन्स हेर्न मिल्ने तर कारबाही गर्न नमिल्ने भने । अब नागरिक एपमै लाइसेन्स चेक गरेर चालकले गल्ती गरे भने कारबाही गर्न मिल्ने बनाउन सकिन्छ’, महानिर्देशक रिजालले नेपाल प्रेससँग भने, ‘मैले यातायातमन्त्रीसँग पनि ई-लाइसेन्स अगाडि बढाउन कुरा गरेको छु । मन्त्रीले पनि काम गरौं भन्नुभएको छ ।’

हाललाई भने लामो समयदेखि रोकिएको लाइसेन्स वितरण सुरु हुने उनले जानकारी दिए । उनका अनुसार माघ १ गते नयाँ लाइसेन्स वितरण सुरु हुन्छ ।

बिज्ञापन