कृषि

देउता रिसाउने कुप्रथाले कृषकलाई दुध बेच्न गाह्रो

बिज्ञापन

बैतडी, फागुन ४ गते । दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा  भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।   

बिज्ञापन

बैतडीका ग्रामीण क्षेत्रका स्थानीय तहका वडा कार्यालयदेखि गाउँपाकिला केन्द्र, विद्यालय र स्वास्थ्य चौकी रहेका स्थानका होटलमा दुध चिया पाइँदैन । चार नगरपालिका, छ वटा गाउँपालिका र ८४ वटा वडा कार्यालय गरी ९४ वटा स्थानीय सरकार रहेका छन् । 

त्यसैगरी जिल्लाभरि १०४ वटा स्वास्थ्य संस्था र ५६५ वटा विद्यालय रहेका छन् । यी स्थानमा चिया पसल चल्ने राम्रो सम्भावना भए पनि चिया पसल चल्न सकेका छैनन् । भएका चिया पसलमा कालो चिया मात्र पाइन्छ ।

स्थानीय तहका वडा कार्यालयनजिक दुई–चारवटा चिया नास्ताका पसल चल्ने सम्भावना भए पनि दुध बेच्दा देउता रिसाउने डरले वडामा चिया पसल नरहेको मेलौली नगरपालिका–८, का वडा अध्यक्ष तपेन्द्र बिष्टले बताउनुभयो । 

“दुध बेचेर आम्दानी गर्नुभन्दा बरु भारतमा मजदुरी गर्न जाने ८० प्रतिशत घरधुरी छन्” वडा अध्यक्ष बिष्टले भन्नुभयो, “सार्वजनिक स्थलका होटलमा दुध बेचे दलित र महिनावारी भएका महिलाले चिया खाए देउता रिसाउने भ्रम छ । कृषिउपज बिक्री गरेर गाउँमै स्वरोजगार बन्न नदिने यस्ता कुप्रथा र कु–परम्परा हटाउन जरुरी छ ।”

जिल्ला सदरमुकाम बाहेकका अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिकस्थलमा दुध चिया पाइँदैन । ग्रामीण स्वास्थ्य संस्थाका काम गर्ने महिला स्वास्थ्यकर्मीले महिनावारी भएका बेला दुध किन्न पाउँदैनन् ।     

घिउ चल्छ, दुध चल्दैन  

जिल्लाका ग्रामीण बस्तीका किसानले पहिलो पटक ब्याएको गाई–भैंसीको घिउ र दुध देउतालाई चढाउने चलन छ । देउतालाई चढाएको घिउलाई शेरौदो भन्ने गरिन्छ । जुन देउतालाई शेरौदो चढाइन्छ, उही देउताको “केर” (दृष्टि) पशुमाथि रहेको जनविश्वास छ । दलित र महिनावारी भएका महिलाले दुध–दही खाएमा देउता रिसाउने र पशुले दुध दिदैन भन्ने भ्रम छ । 

दलित समुदायका व्यक्तिले पशुपालन गरे पनि सार्वजनिकस्थलका होटलमा दुध चल्दैन । दलित समुदायको दुध नचले पनि घिउ भने चल्नेगरेको छ । ग्रामीण भेगमा दलितले न दूध किन्न पाउँछ, न बिक्री गर्न पाउँछन् । यस्तो विभेद हटाउनु पर्ने मेलौली नगरपालिका–६, का चिन्तामणी भट्टले बताउनुभयो ।       

पशुको नस्ल हुन्छ

सुदूरपश्चिमको बैतडीसहितका केही जिल्लामा महिनावारी भएका महिला र दलितलाई दुध नदिने तीतो यथार्थ रहेकाले यस्ता कुप्रथा हटाउन स्थानीय सरकार अघि सुर्नुपर्ने पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सदरमुकामका होटलमा कुनै विभेद छैन, तर ग्रामीण क्षेत्रमा अहिले पनि दुध नदिने चलन कायमै छ । दूध बिक्री गरे पशु बिग्रिन्छ भन्ने जुन भ्रम छ, पशुको केयर होइन, नस्ल हुन्छ । दुध उत्पादन बढाउन पशु सेवा विज्ञ केन्द्रसँग नस्ल सुधारका विभिन्न कार्यक्रम छन् ।”

उहाँले थप्नुभयो,“ कु–प्रथाका कारण ग्रामीण कृषिउपजको मुख्य स्रोत दुध आर्थिक रुपान्तरणको माध्यम बन्न सकेको छैन । यात्रा गर्दा बसको अर्को सिटमा कुन जातिको मानिस बसेको छ ? हामी सोध्दैनौं, तर दुध बेच्दा कसले खायो ? भन्ने भ्रम छ । यस्ता कुप्रथा हटाउन ग्रामीण क्षेत्रमा सहकारीमार्फत दुध सङ्कलन गरेर बिक्री गर्न स्थानीय तहले अगुवाइ गर्नुपर्छ ।”  

बिज्ञापन