राजनीति

यस कारण धरापमा छ रेशम चौधरीको नाउपा अध्यक्ष पद

बिज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रेशम चौधरीको पद जुनसुकै बेला खोसिन सक्ने सम्भावना बढेको छ। 

बिज्ञापन

एक हिसाबले उनको पद धरापमा परिसकेको छ। पार्टीको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका चौधरीविरुद्ध निर्वाचन आयोगमा परेको उजुरी कारबाही प्रक्रियामा पुगिसकेको छ। 

त्यसको पहिलो चरणमा आयोगले चौधरीलाई स्पष्टीकरण सोधेको हो।  

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टी महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो।  चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन पार्टीले माघ २९ गते निर्वाचन आयोगलाई निवेदन दिएको थियो। 

चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी भएर जन्मकैदको सजायको र राष्ट्रपतिले आममाफी दिएर  छुटेको भन्दै आयोगमा दुई वटा उजुरी परेका थिए। 

आयोगमा पुस २९ गते र माघ ३ गते दुई छुट्टाछुट्टै उजुरी परेको थियो। आयोगले नाउपाको विवरणहरू अद्यावधिक गर्नुअघि बिहीबार रेशम चौधरी र नाउपासँग जवाफ माग्ने निर्णय गरेको थियो। 

आयोगले चौधरीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २को खण्ड ख बमोजिम राजनीतिक दलको सदस्य बन्न योग्य व्यक्ति हो वा होइन यसका आधार र कारण के हुन् भनेर प्रश्न सोधेको छ।

उपदफा १ बमोजिम सदस्यता वितरण गर्दा भ्रष्टाचार, जबरजस्ती करणी, मानब बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको हुनुपर्ने उल्लेख छ।

राष्ट्रपतिले दिएको आममाफीको अर्थ आचरणसँग जोडिएको हुन्छ नकि उसको अपराधको पृष्ठभूमी सत्य होइन भन्ने साबित गराउँदैन। यसकारण पनि आयोगले त्यस आधारमा चौधरीको पद खारेज गर्न सक्ने सम्भावना बलियो छ। 

अदालतले हत्या जस्तो अभियोगमा कसुरदार ठहर गरिसकेको व्यक्तिले सक्रिय राजनीति गर्ने स्थिति रहेको छैन। यसका नजिर अरु पनि छन्। बाहलवाला मन्त्री हुँदा नै जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारमा कसुरदार ठानिएको थियो। उनको मन्त्री पद त्यसैबेला गुमेको मात्र थिएन, सक्रिय राजनीतिक जीवन पनि सकिएको थियो। 

गुप्ता अहिले पनि राजनीतिक सक्रियतामा रहेका छैनन्। यस आधारलाई मापन गर्दा पनि चौधरीको पद गुम्ने खतरा बलियो रहेको बताइन्छ।

बिज्ञापन