राष्ट्रिय समाचार

रुसी सेनामा भर्ति नहुन प्रधानसेनापतिको आग्रह

बिज्ञापन

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरुलाई रुसी सेनामा भर्ति हुन नजान आग्रह गरेका छन् । शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित १८औं ब्याच सिनियर डिभिजन एनसिसी तालिमको चौथो चरणको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

बिज्ञापन

युवाहरुले नेपालमै केही गर्ने सोच बनाउनुपर्नेमा प्रधानसेनापति शर्माको जोड थियो । उनले भने, ‘विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला । रुसमा के भईरहेको छ भन्ने कुरा हामीले बुझेका छौं । त्यस्ता क्रियाकलापमा नलाग्न विशेष आग्रह गर्न चाहान्छु ।’ उनले युवाहरुलाई सकारात्मक सोच लिई आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गरिरहन सल्लाहा दिए ।

यसैबीच कैलाली, कञ्चनपुर, बर्दिया, दाङ्ग, नवलपरासी लगायत १६ जिल्लाका ११ र १२ कक्षामा अध्ययनरत ५ सय ६६ विद्यार्थीलाई एनसीसीको १८औं सिनियर डिभिजनबाट शनिबार दिक्षित गरिएको छ । एक सय दिनको तालिम लिएर दिक्षित भएका विद्यार्थीहरुलाई प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा नवलपुरका सुरक्षा निकायका प्रमुख, पूर्व सुरक्षाकर्मीहरु, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतको सहभागिता रहेको थियो । दीक्षित विद्यार्थीहरुले कार्यक्रममा ‘मार्च’ गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बिज्ञापन