बिश्व

इजरायलमा इरानी हमला : अर्को खतरनाक युद्धको संघारमा उभिएको हो मध्यपूर्व ?

बिज्ञापन

गत अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी)का जनरल मोहम्मद रेजा जाहेदी र अन्य धेरै अधिकारीहरू मारिएपछि त्यसको बदला लिने धम्की इरानले बारबार दिइरहेको थियो ।

बिज्ञापन

अप्रिल १ मा भएको आक्रमणको आधिकारिक रूपमा जिम्मेवारी नलिए पनि इरानले इजरायलमाथि नै औंला उठाएको थियो ।

उक्त हमलामा मारिएका जनरल जाहेदी इरानले सिरिया र लेबनानमा गरेको हमलाको योजनाकार रहेको इजरायलले सार्वजनिक रूपमा बताउँदै आएको छ । त्यसका साथै गत अक्टोबर ७ मा हमास समूहले इजरायलमा आक्रमण गरेर १२ सय जनाको ज्यान लिएको घटनामा पनि जाहेदी जोडिएका थिए ।

यद्यपि इरानले इजरायलमाथि हमासले गरेको आक्रमणमा जाहेदी जोडिएको विषय अस्वीकार गरेको छ र इजरायलले पनि सिरियामा भएको जाहेदीको हत्यामा आफू संलग्न नरहेको सार्वजनिक दाबी गरेको छ ।

यही पृष्ठभूमिमा इरानले शनिबार इजरायलमा २ सयभन्दा बढी ड्रोन र मिसाइलले हमला गर्‍यो । मत्थर हुँदै गएको मानिएको इजरायल-हमास युद्धमा घिउ थप्ने गरी इरान संलग्न भएपछि यस क्षेत्रमा ‘दीर्घकालीन क्षेत्रीय युद्ध’ हुने आशंका व्याप्त छ ।

सिरियामा रहेको आफ्नो दूतावासमा आक्रमण भएको १३ दिनमा इरानले ड्रोनसँगै ब्यालेस्टिक र क्रुज मिसाइल प्रयोग गरेर इजरायलमा आक्रमण गरेको हो ।

इरानले दमस्कसमा आफ्नो कूटनीतिक नियोगलाई निशाना बनाएपछि ‘आत्मरक्षा’स्वरूप इजरायलमाथि आक्रमण गरेको दाबी गरेको छ । सँगै इरानले आफ्नो कारबाहीकै कारण परिस्थिति थप नबिग्रिने ‘अनौठो आशा’समेत गरेको छ ।

इरानको आक्रमणपछि इजरायलले इरानी आक्रमणलाई असफल तुल्याएको दाबी गर्‍यो ।

इजरायलको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सयौं ड्रोन र मिसाइलहरू प्रयोग गरेर इरानले गरेको आक्रमणलाई इजरायली सेनाले असफल तुल्याएको छ । जसमध्ये ९९ प्रतिशतलाई रोकिएको छ । सेनाहरू सबै मोर्चाहरूमा तैनाथ गरिएको छ र इजरायली क्षेत्रको रक्षा गर्न तयार छ ।’

यो आक्रमणपछि अमेरिका पनि खुलेरै इरानविरोधी मोर्चामा सामेल भएको छ । राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण गर्न प्रयोग गरिएका सबै ड्रोन र मिसाइललाई आकाशमै ध्वस्त गर्न अमेरिकी सहयोग रहेको बताए ।

‘इजरायलमा इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू निष्प्रभावी बनाउन अमेरिकाले मद्दत गरेको छ,’ इजरायल आक्रमणपछि उनले एक वक्तव्य दिँदै भने, ‘हामीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आफ्नो सैन्य  समर्थन दिएको पुनःपुष्टि भएको छ ।’

उनले इरान आक्रमणको विरोधमा छिटै जी ७ (ग्रुप-सेभेन) राष्ट्रका नेताहरूसँग भेट र छलफल गर्ने बताए ।  

राष्ट्रपति बाइडेनले आफ्नो शीर्ष सुरक्षा अधिकारीहरूसँगको बैठकमा इरानी आक्रमणविरुद्ध इजरायललाई पूर्ण सैन्य समर्थन दिने वाचासमेत गरेको अंग्रेजी अखबार ‘द टेलिग्राफ’ले जनाएको छ ।

यद्यपि ह्वाइट हाउसका केही अधिकारीहरूले स्थानीय सञ्चारमाध्यममार्फत अमेरिकाले इरानविरुद्ध आक्रमण भने नगर्ने दाबी गरेका छन् ।

द टेलिग्राफले अमेरिकी अधिकारीहरूको भनाइ उदृत गर्दै आफ्नो एक समाचार प्रतिवेदनमा भनेको छ, ‘अमेरिकाले इरानविरुद्धको कुनै पनि आक्रमणमा भाग लिने छैन । इजरायली प्रधानमन्त्री नेतान्याहूसँग भएको टेलिफोन वार्ताका राष्ट्रपति बाइडेनले यस्तो प्रतिक्रिया दिएका छन् ।’

इरानको आक्रमणपछि प्रधानमन्त्री नेतन्याहूले रक्षात्मक र आक्रामकरूपमा जवाफ दिने बताएका छन् ।

युरोपेली संघ, बेलायत, फ्रान्स, मेक्सिको, चेकिया, डेनमार्क, नर्वे र नेदरल्याण्डले इरानको आक्रमणको निन्दा गरेका छन् । इरानले इजरायलमाथि गरेको ड्रोन र मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने तयारीसमेत रहेको बताइएको छ ।

भारतले इरानी आक्रमणलाई प्रत्यक्षरूपमा निन्दा नगरे पनि पश्चिम एसिया क्षेत्रमा इजरायल र इरानबीच बढ्दै गएको शत्रुताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

‘हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको बाटोमा फर्किन आह्वान गर्दछौं,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सात महिनाअघिदेखि चलिरहेको इजरायल-हमास बीचको गाजा युद्धमा अब लेबनान, सिरिया, यमन, इराक र इरानसमेत जोडिएका छन् । यसले यस क्षेत्रमै तनावपूर्ण शक्ति संघर्ष हुने र लाखौं मान्छेको ज्यान जोखिमपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् ।

अहिलेसम्म हमासलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको इरानले अमेरिकालाई पनि प्रत्यक्ष युद्धमा तान्ने गरी आक्रमण गरेको भन्दै इजिप्टले क्षेत्रीय संयम अपनाउन सबै शक्तिहरूलाई आग्रह गरेको छ ।

यो समाचार टिप्पणी लेख्दै गर्दा इरानले इजरायलमा गरेको आक्रमणबारे छलफल गर्न इटालीले जी७ नेताहरूको भिडियो बैठक बोलाएको छ ।

रोयटर्सले इटालीको प्रधानमन्त्री कार्यालय स्रोतको हवाला दिँदै भिडियो कल युरोपेली समयअनुसार अपराह्नमा हुने बताएको हो । यतिबेला जी७ को अध्यक्ष राष्ट्र इटाली छ ।

इजरायलमाथि इरानको आक्रमण जारी रहेको अलजजिराका रक्षा संवाददाता एलेक्स गाटोपोलसले रिपोर्ट गरेका छन् ।

बिज्ञापन