राष्ट्रिय समाचार

एक गाग्री पानी भर्न डेढ घण्टा लाइन !

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुलीकोट, असार १ गते। गोरखा सदरमुकामको दरबारमार्गमा बस्ने कृष्णबहादुर श्रेष्ठ बिहान पानी बोक्दैमा समय बित्छ। गोरखा सदरमुकाम- ६ छहरेधारामा पानीको मुहान सानो हुन थालेपछि आफ्नो पालो आउन कम्तीमा एकदेखि डेढ घण्टा कुर्नुपर्ने हुन्छ। कुनै दिन एक गाग्री पानी भर्न डेढ घण्टा भन्दा बढी समय कुर्नुपर्ने हुन्छ। 

सदरमुकाममा पानीको समस्या छ। सदरमुकाममा रहेका अधिकांश पानीका धारा सुक्न थालेपछि घण्टौ कुरेर एक गाग्री पानी ल्याउनु परेको छ। उहाँले भन्नुभयो, “बिहानै ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइनमा बस्दाबस्दै डेढ घण्टा समय बित्छ।’’ सदरमुकाममा वर्षको दुई महिना जति खानेपानी समस्या आउने उहाँले बताउनुभयो। 

बिज्ञापन

सदरमुकाममा जोडिएका प्रत्येक घरमा लाइनको पानी चार पाँच दिनमा एक पटक मात्र आउने भएकाले पनि धेरै मानिस धाराको पानीमा भीड भएको हुनसक्ने स्थानीय रेजिना मगरको बुझाइ छ। गोरखा बजारमा पानीको समस्याका कारण विकासले गति लिन नसकेको स्थानीय रामकुमार श्रेष्ठले बताउनुभयो।

खानेपानीसँगै शैचालय जान, लत्ताकपडा धुन, नहाईधुबाई गर्न  तथा वस्तुभाउलाई खुवाउन समस्या भोग्नु परेको माया गुरुङ बताउनुहुन्छ। सम्बन्धित निकायले बेलैमा पानीको बारेमा पहल कदमी लिएर खानेपानीको समस्या हल गर्नुपर्ने उहाँको भनाइ छ। 

गोरखा सदरमुकाममा पानीका मुहान नभएका भने होइनन् गोरखा सदरमुकाम केन्द्रित बढी जनसंख्या र दिगो मुहान नभएका कारण समस्या झेल्नु परेको स्थानीयबासी कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ। 

केही समय अघि मात्रा सदरमुकाम नजिकै रहेको रानीवनका सम्पूर्ण स्थानीय बासी गोरखा नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय गोरखामा रित्तो गाग्री बोकेर प्रर्दशन समेत गरेका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।