कराँतेका साग पदक विजेता कसरी बने जोगी ?

काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा फोटोले नेपाली खेलकुदकर्मी र खेल प्रेमीको ध्यान तानेको छ। पूर्व कराँते खेलाडी रवीन्द्र दाहाल जोगीको भेषमा हिँडिरहेको अवस्थामा अर्का खेलकर्मीले सँगै राखेर खिचेको तस्बिरले धेरैको ध्यान तानेको छ।
प्रतिक्रिया दिनेहरूले नेपाली खेलकुदले पदक विजेता खेलाडीहरूलाई ध्यान दिन नसक्दा जोगी बनेर हिँड्नु परेकोसम्म लेखेका छन्। दाहाल तीनवटा दक्षिण एसियाली खेलकुद-सागका कांस्य पदक विजेता हुन्।

उनले ८ औँ देखि १० औँ सागसम्म लगातार खेलेका थिए। यस्तै १६ औँ एसियाली खेलकुदमा पनि उनले प्रतिस्पर्धा गरेका थिए। जानकारहरूका अनुसार केही वर्षयता उनी साधु बनेर हिँडिरहेका छन्।
उनकै समकालीन एक खेलाडी भन्छन्, ‘प्रहरीमा जागिर खान्थे। जुनियर अफिसर थिए भन्ने सुनेको थिएँ। पछि जागिर छाडेको र श्रीमतीसँग पनि सम्बन्ध विच्छेद भएको कुरा बाहिर आएको थियो।‘
उनलाई नजिकबाट चिनेका अर्का एक खेलाडीका अनुसार रवीन्द्र त्रिपुश्वेरस्थित दशरथ रंगशाला आसपासमा काम गर्दै पछि खेलाडी बनेका थिए। ‘उ धेरै पटक राष्ट्रिय च्याम्पियन पनि बनेको थिए’, ती खेलाडी भन्छन्।
प्रहरीमा सेवा प्रवेश गरेपछि उनी मदिराको लतले बिग्रिएको पनि बताइन्छ। उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै एक कर्मचारीसँग विवाह गरे पनि सम्बन्ध लामो समय टिक्न सकेको थिएन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
