अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपल्ट विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ — अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको हो । दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दक्षिण अफ्रिका एकदिवसीय विश्वकपको पनि फाइनल पुग्न सकेको छैन ।
दक्षिण अफ्रिकाको विश्वकप यात्रा ७ पटक सेमिफाइनलबाटै टुंगिएको थियो । यस पटक भने भारत वा इंग्ल्यान्डमध्ये एकलाई हराएर उपाधि जित्ने नै अवसर दक्षिण अफ्रिकासामु रहेको छ । पछिल्लो पटक गत वर्ष कोलकातामा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले अहिलेसम्म एउटै उपाधि मात्र जितेको छ र यो सन् १९९८ को आईसीसी ट्रफी रहेको छ ।

बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट मैदान अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हन्ड्रिक्सले २९ रन बनाए । त्यस्तै एडेन मार्क्रमले २३ रन बनाए । क्विन्ट डी कक भने ५ रनमै आउट भएका थिए । अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानको प्रदर्शन राम्रो हुन सकेन र पूरा टिम ५६ रन मात्र बनाएर अलआउट भएको थियो । पूरा टिम ११.५ ओभर मात्रै टिकेको थियो ।अफगानिस्तानले पावर–प्लेमै २३ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो र त्यसपछि पनि नियमित अन्तरमा विकेट गुमाइरह्यो । अफगानिस्तानका लागि अजमुतुल्लाह ओमरजाईको १० रन नै सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ४ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानको ब्याटिङ २/१६, ३/२०, ४/२०, ५/२३, ६/२८, ७/५०, ८/५०, ९/५०, हुँदै १०/५६ को अवस्थामा पुगेको हो ।
दक्षिण अफ्रिका लागि सबै बलरले धारिलो बलिङ गरे । त्यसमध्ये मार्को ज्यान्सनले १६ रनमा तीन विकेट लिए । यस्तै तबरेज शाम्सीले पनि ६ रन मात्र दिएर तीन विकेट आफ्नो नाममा लेखाए । यस्तै कागिसो रबाडा र एनरिक नोर्ट्जे ले दुई/दुई विकेट हात पारे ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
