कांग्रेस एमाले मिलनबारे माओवादीको प्रतिक्रिया–गणतन्त्र राखेर २०४७ को संविधान फर्काउने षड्यन्त्र

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन्।
एमालेले आजै समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे पाटीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले एमालेबाट कांग्रेससँगको सहमतिबारे अहिलेसम्म औपचारिक रुपमा जानकारी नआएको बताए।
उनले भने, ‘एमालेबाट समर्थन फिर्ता गरेको खबर गरेको छैन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उहाँले विश्वासको मत पाउनुभएन भने संविधानका धारा ७६ को ३ मा जान्छ त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो।’
प्रधानमन्त्रीले राजीनामा दिनुुहुन्छ कि विश्वासको मतको सामना गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो सल्लाह हुँदैछ, राजीनामा नदिएर विश्वासको मत लिन सक्नुहुन्छ त्यो उहाँको अधिकारको कुरा हो।’
त्यसबारे रणनीति बनाउन प्रधानमन्त्री प्रचण्डले ९ बजेका लागि पदाधिकारी बैठक पनि राखेका छन्। उनले एमाले र कांग्रेस मिलेर २०४७ सालको संविधानतिर फर्काउनतिर लागेको आरोप लगाए।
उनले भने, ‘संविधान संशोधन गरेर समानुपातिक समावेश हटाउने कुरा आएका छन्। जनताले प्राप्त गरेको उपलब्धिलाई फर्काउने प्रतिगामी कदम नै हो। संविधान संशोधन गर्ने, समानुपातिक समावेशि हटाउने, निर्वाचन प्रणाली हटाउन भनेको छ, गणतन्त्र राख्ने ०४७ सालको संविधानमा फर्काउनेतिर गयो।’
उनले एमाले र कांग्रेस मिलेपछि अब माओवादीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। कांग्रेस र एमालेबीच ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्नेदेखि संविधान संशोधन गर्ने सहमति बनेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
