घटना

हमासका नेता हानियाको हत्याले मध्यपूर्वमा अशान्तिको संकेत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । हमासका नेता इस्माइल हानियाको हत्यापछि मध्यपूर्वमा तरंग उत्पन्न भएको छ । लामो समयदेखि हमास र इजरायलबीच द्वन्द्व छ । द्वन्द्वलाई शान्ति वार्तामार्फत टुंगोमा पु-याउने पहल भइरहेका बेला हमासका नेता हानियाको हत्याले ठूलो तरंग उत्पन्न भएको छ ।

लोक कल्याणकारी विज्ञापन

हानियाको हत्या इरानको राजधानीमा तेस्रो पक्षबाट हुनुले इरान क्रुद्ध छ । हानियाको हत्या इरानी भूमिमै हुनु इरानको नाकैमा हाने जस्तो पनि हो । हानियाको मृत्युको खबर लेबनानमा इजरायली आक्रमणमा परी हिज्बुल्लाहका एक वरिष्ठ सैन्य नेता मारिएको केही घण्टाभित्रै आएको हो ।

लोक कल्याणकारी विज्ञापन

गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि अप्रत्याशित आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पुरै सखाप बनाउने भाषण नै गरे । निशानामा पार्नका लागि इजरायली गुप्तचरले हमासका नेताहरूलाई निगरानीमा राखेका थिए ।

बिज्ञापन

इजरायलकै आक्रमणमा आफ्ना तीन छोरा हाजम, आमिर, मोहम्मद अनि चार नाति नातिना गुमाएको तीन महिना २० दिनपछि इस्माइल हानियाले ‘इजरायलकै मिसाइल’बाट ज्यान गुमाए । परिवार गुमाएपछि कतार बस्न थालेका उनी प्यालेस्टाइनको इस्लामिक उग्रवादी समूह हमासको राजनीतिक विभाग प्रमुख थिए । इरानका नयाँ राष्ट्रपतिको पदभार समारोहमा सहभागी हुन उनी छोटो समयका लागि तेहरान पुगेका थिए । जसलाई इजरायली गुप्तचरले निशाना बनाइरहेका थिए ।

कतारमा कडा सुरक्षाबीच बस्दै आएका हानियालाई सोही भूमिमा इजरायलले निशाना बनाउन सक्थे । कतारको भूमिमा क्षेप्यास्त्र प्रहार राजनीतिक रूपमा पनि सम्भव थिएन, त्यसैले इजरायल कुन बेला हानिया सो क्षेत्र छाडेर बाहिर जान्छन् भन्ने प्रतीक्षामा रहेको इरानको सो घटनाले देखाउँछ । जब उनी इरानमा पुगे इजरायली निशानामा परे । आफ्नो भूमिमा विदेशी कूटनीतिको हत्याले इरानलाई नाक जोगाउन अब हम्मे परेको छ ।

त्यसो त इरान हमासलाई समर्थन गर्ने प्रमुख मुलुक हो । इरानकै समर्थनमा हमासले आफ्ना गतिविधि बढाउँदै आएको थियो । इजरायल र हमास द्वन्द्वका बेलामा पनि इरानले हमासलाई समर्थन गर्दै इजरायलले चर्को मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएको थियो ।

हमासले यस आक्रमणमा इजरायलको हात रहेको दाबी गरेको छ । यद्यपि, इजरायलले अहिलेसम्म औपचारिक टिप्पणी भने गरेको छैन । हमासका वरिष्ठ अधिकारी मुसा अबु मरजोकले आक्रमणलाई कायर हर्कत भनेका छन् । उनले यसको बदला लिने चेतावनी पनि दिएको अल जजिराले लेखेको छ । ६२ वर्षीय हानिया हमासको अन्तर्राष्ट्रिय कूटनीतिमा ठूलो नाम थियो । गाजामा इजरायली बम बर्सिरहेकै समयमा उनको हत्या भएको छ ।

इजरायलले बाहिरी भूमिमा आक्रमण भएका ’boutमा कुनै टिप्पणी गर्ने गरेको पाइँदैन । यसअघि अप्रिल महिनामा इजरायलले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई तारो बनाएर आक्रमण गरेकै शैलीमा हानियाको हत्या गरेको छ । हानियाको हत्याले गाजामा युद्धविराम गराउने विषय जटिल हुन सक्नेछ । युद्धविराम गर्ने विषयमा हमासको वार्ता टोलीमा हानियाले नेतृत्व गरिरहेका थिए । अब उनको हत्यासँगै युद्धविरामको विषय अन्योल बनेको छ । पहिलो कुरा इरानमा हानियाको हत्या हुनुले जो सुकै पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ । दोस्रो कुरा इजरायलले इरानसामु आफ्नो क्षमता देखाएको छ ।

हानियाको हत्याबाट गाजाको युद्धविराम र बन्धकहरूको रिहाइका लागि भइरहेका प्रयास असफल हुने संकेत देखिएको छ । इजरायलको आक्रणपछि निर्वासन जीवन बिताइरहेका हमासका नेताको हैसियतमा कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा वार्ता भइरहेका थिए । तर, हानियाकै हत्याका कारण युद्धविरामको विषय टाढा बन्ने संकेत देखिन्छ । हानियाको हत्यापछि अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले युद्धविराम गराउने प्रयास जारी राखेको बताएका छन् । टर्कीको विदेश मन्त्रालयले हानियाको हत्याले नेतान्याहुको उद्देश्य शान्ति हासिल गर्ने नरहेको स्पष्ट भएको टिप्पणी गरेको छ ।

यता हमासले आफ्ना राजनीतिक नेता हानिया इजरायलले गरेको ठानिएको एउटा रकेट आक्रमणका क्रममा इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । हमासको राजनीतिक विभागका सदस्य मुसा अबु मार्जुकले सो आक्रमणलाई ‘कायर कृत्य’को संज्ञा दिँदै त्यसको जवाफ दिइने बताएका छन् । हमासका अर्का नेता समी अबु जुहरीले हमास आफ्नो ‘पथमा चलिरहने’ बताएका छन् ।

इरानका राष्ट्रपतिले सो ‘कायरतापूर्ण कृत्यका लागि आतंकवादी अतिक्रमणकारीहरूले’ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इरानले आफ्नो अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि कदम चाल्ने जनाएको छ ।

रुस, चीन र टर्कीले सो हत्याको निन्दा गरेका छन् । कतारले त्यसलाई तनावलाई खतरनाक तहमा चर्काउनसक्ने प्रतिक्रिया दिएको छ । हमास र इजरायलबीच मध्यस्थता गर्दै आएको कतारले एक विज्ञप्ति प्रकाशित गर्दै सो आक्रमणलाई ‘गम्भीर अपराध’ भनेको छ । कतारको विदेश मन्त्रालयले सो घटनाबाट ‘अन्तर्राष्ट्रिय र मानवीय कानुनहरूको उल्लंघन’ भएको जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन