आस्था /आध्यात्म

थारु समुदाय आज गुरही पर्व मनाउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, साउन २५ गते । थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।

गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख सेलाउने चलन छ । जसलाई थारु भाषामा गुरही असरैना भनिन्छ । 

बिज्ञापन

यो पर्वमा बालिका वा किशोरीहरूले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसँग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन छ । गुरहीलाई ठटाएर गाउँघरबाट रोगव्याधि धपाउने गरेको मान्यता रहिआएको छ । 

गुरही पर्वमा गुरही असरैना कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधि नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा ठाकुर करिया प्रधानले बताउनुभयो । खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उहाँले संस्कृति संरक्षण र युवा पुस्तालाई गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

यसैबिच, आज धनगढीको गुरही चौकमा नाचगानसहित सामूहिक रूपमा गुरही असरैना कार्यक्रम गर्ने तयारी गरिएको छ । सखी सञ्जालसहित थारु सम्बद्ध विभिन्न सङ्घसंस्थाको आयोजनामा गुरही असरैना कार्यक्रम गर्ने जनाइएको छ । थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।