अवर्गीकृत

धनगढीले गर्‍यो- आचार्य कृष्णबहादुर दमाईलाई नगदसहित सम्मान, जागिर पनि दिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । कृष्णबहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य उपाधि लिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३, तिलकपुरका कृष्णबहादुरले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका हुन् ।

बिज्ञापन

दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य गरेको भन्दै कृष्णबहादुरलाई धनगढी उपमहानगरपालिकाले नेपालमा भएका ७५३ स्थानीय तहमध्ये सबैभन्दा पहिले नगदसहित सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

धनगढी उपमहानगरपालिकाले शनिबार नगरसभाको हलमा एक कार्यक्रमका बीच आचार्य कृष्णबहादुरलाई नगद एक लाख ५१ हजार सहित सम्मान तथा बधाई ज्ञापन गरेको हो । यसअघि पशुपतिनाथ मन्दिर परिसरको वनकालीमा आयोजित कोटीहोममा प्रवचन गरेका कृष्णबहादुरलाई आयोजकले स्वागत तथा अभिनन्दन गरेको थियो ।

सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफू पहिलादेखि नै समाजमा विभेद हटाउने अभियानमा लागेको बताउँदै अझै जातिय छुवाछुत रहेको हाम्रो समाजलाई प्रेरणा दिन आचार्य कृष्णबादुर दमाईलाई नगदसहित सम्मान गरेको बताए ।

नगरप्रमुख हमालले जातले कोही सानो ठूलो हुँदैन, सबैभन्दा ज्ञान नै ठूलो हो । कृष्णबहादुरले दलित समुदायबाट पहिलो पटक संस्कृत साहित्यमा आचार्य गरेर समाजका लागि ठूलो प्रेरणा दिएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कृष्णबहादुरले आफू शुद्र कुलमा जन्मिए पनि आचार्य हुन सफल भएको बताए । उनले दलितहरूलाई वेद–पुराण अध्ययन गर्न निषेध गरिएको सामाजिक अवस्थालाई चुनौती दिँदै सनातन हिन्दू संस्कार जोगाउन आफू आचार्य बनेको बताए ।

‘देशमा धार्मिक विध्वंस मच्चाएर एक–अर्कालाई फुटाउँदै सनातनलाई सिध्याउने षड्यन्त्र भइरहेको छ,’ सम्मान कार्यक्रममा उनले भने– ‘हिन्दू संस्कार र संस्कृत बचाउ अभियानमा जुट्नु सबैलाई अनुरोध छ । संस्कृतलाई कर्मकाण्डी भाषाका रुपमा मात्रै लिनु अज्ञानता हो ।’

आचार्य कृष्णबहादुरलाई बाजागाजासहित नगरप्रमुख हमाल तथा कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूलगायतले भब्य स्वागत गरेका थिए ।

उपमहानगरले आचार्य कृष्णबहादुरलाई जागिर दिने
आर्थिक अभाव खेपिरहेका आचार्य कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले जागिर दिने घोषणा गरेको छ । नगरप्रमुख हमालले कृष्णबहादुरले जागिर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताएका हुन् ।

नगरप्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका कृष्णबहादुरलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए ।

नगरप्रमुख हमालले आचार्य कृष्णबहादुरलाई चाहेको वेला धनगढी उपमहानगरले योग्यताअनुसारको जागिर दिने र उनलाई अभियन्ताका रूपमा समाज परिवर्तनमा सक्रिय गराउने घोषणा गर्दै काम चाहेको बखत उपमहानगरपालिकामा जागिर गर्न आउन आग्रह गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।