तङ्ग्रिद्रै बाघ मार्ने भैँसी

हेटौंडा । गत भदौ ६ गते बिहान नेपालभर एउटा समाचारले सनसनी मच्चायो । मकवानपुरको मनहरी गाउँपालिका- ६ प्रतापुरमा भैँसीको आक्रमणमा परी बाघ मरेको अविश्वसनीय तर सत्य खबर चारैतिर फैलियो । समाजिक सञ्जालभर यस विषयमा चर्चा परिचर्चा भए । गोठमा बाँधिराखेको भैँसीले बाघलाई मार्न सक्छ र भन्ने विषयमा पक्ष र विपक्षमा बहसहरु भए ।
बाघको पोष्टमार्टमबाट भैँसीले हानेर मारेको प्रमाणित भयो, तर बाघ पहिले नै घाइते रहेको भनियो । जे भने पनि बाँधिराखेको भैँसीले बाघलाई मारेको हो । अझै बाघले भैँसीलाई गम्भीर घाइते पनि बनाएको थियो र प्रतिकारमा बाघ मारिन पुग्यो ।

बाघको आक्रमणमा परेको भैँसी पनि करिबकरिब मृत्युबाट बचेको देखिएको छ । भदौ ६ गते बिहान करिब २ बजेको समयमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ८ वर्षको बाघ प्रतापुर छिरेको थियो । करिब एक हप्ताको भोको बाघ आहाराको खोजीमा मानव वस्ती पसेर स्थानीय बलबहादुर राईको घर आइपुगेको थियो ।
उनको घरको दक्षिणतर्फको धानबारी हुँदै उक्त बाघ पहिले राईको बाख्रा खोरतर्फ पुगेको थियो । उसले फलामे जाली भएको गोठ भत्काउन पटकपटक प्रयास गरेको स्थलगत अनुगमनको क्रममा देखियो । जालीको केही भाग भत्काउन सफल भए पनि बाख्रा भएको स्थानमा छिर्न नसकेको राईले बताए ।
उनका अनुसार बाघ त्यसपछि बाख्रा खोरभन्दा २० मिटर पर रहेको भैँसीको गोठ पुगेको थियो । गोठमा एउटामात्रै भैँसी रहेको र उक्त स्थान साँघुरो भएको कारण बाघले पछाडिबाट भैँसीको घाटीमाथिको भागमा आक्रमण गरेको घाउको प्रकृति हेर्दा देखिन्छ, तर वयस्क भैँसीको प्रतिकारपछि बाघको ज्यान गएको घटनास्थल हेर्दा देखिन्छ ।
बाघलाई अगाडिबाट आक्रमण गर्न ठाउँ साँघुरो भएकोले घाँटी माथिको भागलाई निशाना बनाएको हुन सक्ने राई बताउँछन् ।
बाघलाई मारेपछि भैँसी ठूलो स्वरले कराएपछि आफू व्युँझिएको घरधनी राईकाे भनाइ छ । प्रतापपुर क्षेत्रमा यसअघि पनि बाघ, भालु, हात्ती आतंक रहेको कारण आफू एक्लै खोरमा जान डराएर ५-६ जना छिमेकी जम्मा पारेर गोठमा गएको उनले बताए ।
गोठमा जाँदा भैँसीको गर्धनबाट रगत बगिरहेको र सँगै बाघ सुतिरहेको जस्तो देखेको राई बताउँछन् ।
‘सुरुमा हामीले बाघ जिउँदो नै रहेको र भैँसीको खुट्टा टोकेको हो कि भन्ने शंका गरेर बाघलाई धपाउन खोज्यौं, तर नचलमलाएपछि बाघ बेहोस भएको हो कि भन्ने मनमा परेको थियो । पछि नजिकै गएर हेर्दा मरिसकेको पायौं’, राईले भने, ‘बाघको जिउभरि घाउ थियो, टाउकोमा नयाँ घाउ देखिन्थ्यो, सायद त्यो भैँसीले हानेको हुनसक्छ, हामीले हेर्दा मरेको बाघ देखेर भैँसी कराउँदै थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं ।’भैँसीको टाउको मुनिको गर्दनमा बाघले ६ वटा गहिरो प्वाल पारेको देखिएको छ । बाघले गर्दनको मुनिबाट आक्रमण गरेको भए भैँसी मारिन सक्ने थियो, तर भोकाएको घाइते बाघले अन्धाधुन्ध पहिलो बेते भैँसीलाई आक्रमण गरेको र भैँसीले प्रतिकार गर्दा बाघको टाउकोसँगै रहेको कन्चटमा लागेर ‘अन द स्पट’ ज्यान गुमाएको बुझिएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
