अमेरिकामा श्रीमती हत्याका अभियुक्त नरेश भट्टले पक्राउपूर्व ढुक्कसित दिएको त्यो अन्तर्वार्ता

काठमाडौं । नेपालको काभ्रे जिल्लाकी चेली ममता काफ्ले (वर्ष २८) सात समुद्रपार अमेरिकामा करिब एक महिनादेखि बेपत्ता छिन् । उनको हत्या भइसकेको ठानिए पनि अमेरिकी प्रहरीले आधिकारिक पुष्टि गरेको छैन ।
शंकाको घेरामा छन् ममताका श्रीमान नरेश भट्ट । घरभित्रै हत्या गरेर लास लुकाइएको हुनसक्ने प्रमाणहरु फेला परिसकेपछि भर्जिनियाको मनासास प्रहरीले भट्टलाई पक्राउ गर्याे । अदालतले जमानत दिन अस्वीकार गरेपछि उनी अहिले हिरासतमा छन् । अर्को सुनुवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

वासिङटन डीसी नजिक भर्जिनिया क्षेत्रको इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पसअन्तर्गतको प्रिन्स विलियम अस्पतालमा नर्स जागिर गर्ने ममता गत जुलाई ३१ बाट बेपत्ता भएकी थिइन् । उनले काम गर्ने ठाउँबाट प्रहरीमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले घरमा आएर श्रीमानसँग सोधपुछ गर्याे । श्रीमानले भने ५ अगस्तमा मात्रै आधिकारिक रुपमा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
५ दिनसम्म उजुरी नदिँदा नेपाली समुदायमा श्रीमानप्रति शंका उब्जिन थालिसकेको थियो, तर नरेश भने निर्धक्कसँग घरमा एक वर्षकी छोरी हेरेर बसेका थिए । यतिमात्र होइन, उनले दर्जनौं मिडियालाई घरबाटै अन्तर्वार्तासमेत दिए । कसैलाई घरको ढोकामा उभिएर त कसैलाई भर्चुअल माध्यमबाट । अमेरिकी र नेपाली सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू निर्दोष रहेको जिकिर गरिरहे । अमेरिकाका ठूला सञ्चारमाध्यमले समेत यो घटना कभर गरेका छन् ।
प्रहरीले घरमा छापा मारेपछि भने ममताको हत्या गरेर लास लुकाइएको आशंका गर्याे र नरेशलाई तत्काल पक्राउ गर्याे । उनलाई दुई पटक अदालतमा पेश गरिएको छ । नरेशले आफूलाई अंग्रेजी नआउने भन्दै दोभासेको सहारा लिएका छन् । यद्यपि उनले केही अमेरिकी मिडियालाई अंग्रेजीमै अन्तर्वार्ता दिएका थिए । उनले अंग्रेजीमा बोलचाल राम्रैसँग गर्न सक्छन् ।
नरेशका अन्तर्वार्तामध्ये सबैभन्दा विस्तृत कुराकानी सच्ची मैनालीले गरेकी थिइन् । अगस्त २० को राति उनले गरेको भर्चुअल अन्तर्वार्ता सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भएको थियो । सो अन्तर्वार्तामा पनि नरेशले आफू निर्दोष रहेको दोहोर्याए, तर थुप्रै ठाउँमा लट्पटिएका छन् । अन्तर्वार्ताबाट श्रीमान र श्रीमतीबीच सम्बन्ध असहज अवस्थाबाट गुज्रिरहेको थियो भन्ने प्रस्ट हुन्छ । मानिसहरुलाई अल्मल्याउन केही ठाउँमा उनले श्रीमतीको प्रशंसा पनि गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
