देश दौडाहा गर्दै ओलीको भण्डाफोर अभियान गर्दै रावल

काठमाडौं । एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले देश दौडाहा गर्दै केपी शर्मा ओलीको भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् । त्यस’boutमा जानकारी दिने उद्देश्यले उनले भोलि (बुधबार) पत्रकार सम्मेलन गर्दै छन् । एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री भइसकेका रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यसमेत
नरहनेगरी कारबाही गरेको थियो । त्यसपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापतिसमेत हुन् । उनीहरूबीच रावलको टोखास्थित निवासमा भेटवार्ता भएको हो ।

भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्न‘पर्ने प्रस्ताव राखेका बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ सालको निर्वाचनमा डडेल्धुराको प्रदेशसभामा टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन् ।
कतिपयले एमालेले कारबाही गरेपछि रावल छिट्टै नै माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा गरेका थिए । तर, रावलले एकीकृत समाजवादीमा प्रवेश नगर्ने बताएका छन् । हालै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रावललाई एकीकृत समाजवादीमा प्रवेश गर्न सुझाव दिएका थिए । ओलीको कार्यशैलीको कडा रूपमा विरोध गर्दै आएका रावलको सुदूरपश्चिम प्रदेशमा प्रभाव रहेको बताइन्छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
