डाेटीकाे बाेगटानमा नेपालमै पहिलाे पटक मल्लखम्ब खेल सुरु

धनगढी: डोटीको बोगटान फुडसिल गाउँपालिका नेपालमै सामुदायिक विद्यालयहरूमा मल्लखम्ब खेल सुरू गर्ने पहिलो स्थानीय तह बनेको छ।
बोगटान फुडसिल गाउँपालिकाले मातहतका सामुदायिक विद्यालयहरूमा मल्लखम्ब खेलको औपचारिक अभ्यास सुरु गरेको हो।

बोगटान फुड्सिल गाउँपालिकाले ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर यो वर्षदेखि मल्लखम्ब खेललाई संस्थागत रूपमा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। “गाउँपालिकाभित्रका सामुदायिक माध्यमिक र आधारभूत विद्यालयका १३ जना शिक्षकलाई प्रशिक्षणमा सहभागी गराई योगसँगै मल्लखम्ब खेलको आधार तयार गरिएको छ,” उनले भने, “मल्लखम्ब, जुन शारीरिक सन्तुलन, लचकता र शक्ति विकास गर्ने प्राचीन विधा हो र अब यो खेल डोटीको ग्रामीण विद्यालयहरूमा पनि सिकाउने भएका छौँ।”गाउँपालिकाले असार १० देखि १२ गतेसम्म सामुदायिक विद्यालयका १३ जना शिक्षकहरूलाई प्रशिक्षण दिएर खेल अभ्यासको सुरूवात गरेको हो। गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणमा अन्तर्राष्ट्रिय योग गुरू आचार्य महेन्द्र वाशिष्ठ भट्टराई प्रमुख प्रशिक्षक थिए। बोगटान फुडसिलमा अन्तर्राष्ट्रिय मल्लखम्ब प्रशिक्षकहरूको उपस्थिति र प्रशिक्षणमा मल्लखम्बको औपचारिक प्रारम्भ भएको अध्यक्ष गडसिलाले बताए।
सामुदायिक विद्यालयका शिक्षकहरूलाई प्रशिक्षक इन्दिरा अर्याल, डाक्टर शान्ति दूत, विष्णुबहादुर खड्काले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्रीमती बिस्नादेवी बमको समेत उपस्थिती थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
